काठमाडाैँ । नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर विरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले प्रतिपक्षी दलले अध्यादेश किन ल्यायो भनेर प्रश्न गर्नु स्वभाविक भए पनि कन्टेन्टमा कुनै नराम्रो कुरा नभएपछि विरोधको अर्थ नहुने बताए । उनले विपक्षी दलहरुले यसकारण यो अध्यादेश त्रुटिपूर्ण छ भनेर भन्न नसकेको जिकिर गरे । सरकारको नेतृत्वले विशेष दुरुपयोग गर्ने लक्ष्यका साथ अध्यादेश ल्याएको भए दोष देखाइदिन आग्रह समेत गरे ।
उनले भने, ‘६ वटा अध्यादेश संसदमा प्रश्तुत गरिएको छ, किन केही दिन अगाडि मात्रै प्रश्तुत भयो भनेर उठाउनुभएको छ । विपक्षी दलको हैसियतले अध्यादेश किन ल्यायो भनेर प्रश्न गर्नुलाई मैले अस्वभाविक ठानेको छैन । तथापि मलाई लाग्छ, त्यसको कन्टेन्टको बारेमा समस्या त हामीले देखिरहेका छैनौँ । उहाँले पनि स्पष्ट रुपमा कन्टेनको रुपमा खासै आपत्ति जनाउनुभएको छैन । यदि अध्यादेशको बारेमा उल्लेखित विषयवस्तुको बारेमा समस्या छैन भने त्यसबाट सरकारमा बसेका, सरकारको नेतृत्वले विशेष दुरुपयोग गर्ने लक्ष्यका साथ त्यो आयो, भन्नुको कुनै औचित्य छैन । त्यहाँ समस्या छन्, विशेष रुपमा योयो विषयवस्तुहरु खास उद्देश्यले ल्याइएको हो, भन्ने छ भने बुँदागत रुपमा योयो यसकारण ल्याइएको हो भन्नुपर्छ । त्यो आइरहेको छैन । भनेपछि कन्टेन ठिक छ भने अध्यादेश ल्याएकै कारणले आपत्ति गरिरहनुपर्ने आवश्यकता छैन । समयमै टुंगिओस्, आर्थिक मन्दीलाई समाप्त पारेर आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाउन दुई महिनाभित्रै सम्पूर्ण कुरा टुंगो लगाउने लक्ष्यका साथ यो अध्यादेश आएको हुनुपर्छ । कन्टेनमा कतै समस्या छ भने छलफल गरौँ । अध्यादेश ल्याएकै कारण बिरोध गर्नुपर्छ, फेल गराउनुपर्छ भन्ने मान्यता उपयुक्त होइन ।’
उनले अध्यादेश ल्याएकै कारण विरोध गर्ने र फेल गराउनुपर्छ भन्ने मान्यता उपयुक्त नरहेको तर्क गरे ।
