
काठमाडौं । कांग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्कामाथि संसदीय समितिमै सांसदहरुले हमला गरेका छन् । एक पछि अर्को विवादमा मुछिएका ऊर्जामन्त्री खड्कामाथि सांसदहरुले प्रश्नैप्रश्नले हमला गरेका हुन् । जलविद्युत आयोजनाको विषयमा विवाद चुलिएपछि सांसदहरु थप आक्रामक बनेको देखिन्छ ।
जलविद्युत आयोजनाका विषयलाई लिएर ऊर्जामन्त्री दीपक खड्का फसादमा परेका छन् । उनीमाथि सांसदहरु हमला शैलीमा उत्रेका छन् । विवादै विवादका बीचमा कुर्सी जेनतेन जोगाइरहेका ऊर्जामन्त्रीमाथि शुक्रबार सांसदहरुले संसदीय समितिमै प्रश्नैप्रश्नले हमला गरे ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा सत्ता र प्रतिपक्ष दलका सांसदहरुले उनीमाथि प्रश्न ते¥र्याएका हुन् । समितिको बैठकमा शुक्रवार ऊर्जा मन्त्रालयको काम कारबाहीका विषयमा जानकारी लिने कार्यसूची थियो ।
यसक्रममा सांसदहरुले मन्त्री खड्कालाई जगदुल्ला जलविद्युत आयोजना ठेक्का र किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीका विषयमा प्रश्न गरे । सत्ता पक्षका सांसदहरुले समेत मन्त्रालयले गरेका कामको विषयमा आलोचना गरेका छन् ।
समिति बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद गोकर्ण बिष्टले किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीका विषयमा मन्त्री खड्काको नियत राम्रो नभएको बताए ।
आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि बनाउँदा नै सेटिङ भएको देखिएको उनको टिप्पणी छ । उनले विद्युत उत्पादन कम्पनीका लगानीकर्ताहरुलाई जानकारी छ की छैन ? भन्दै प्रश्न गरे । मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने अवस्थाका काम पनि ऊर्जामन्त्रीको प्रबन्धपत्रलाई टेकेर धेरै काम गरेको देखिएको उनको आरोप छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको सेयर बेच्ने प्रक्रिया अगाडि बढाइनु नै शंकास्पद भएको टिप्पणी गरे । रणनीतिक महत्वका आयोजनामा निःशुल्क बिजुलीको विषयमा केही उल्लेख नगरी निजी कम्पनीलाई शेयर बेच्ने विषय निक्कै गम्भीर भएको उनको भनाई छ ।
उनले ४४५ मेगावाटको किमाथांका अरुण र १९०२ मेगावाटको मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर विक्रीका लागि मंसिर २३ गते आशयपत्रमा शंका रहेको समेत बताए ।
उनले मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर विक्री गरेर कति पु¥याउन खोज्नुभएको हो ? भन्दै प्रश्न समेत गरे । सबै सञ्चालक सदस्यहरु सबै सहमति भएको छ वा छैन ? भन्दै उनले अर्को प्रश्न पनि थपे ।
यता, नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले ऊर्जामन्त्रीले कुनै एउटा अमुक कम्पनीलाई शयर बेच्ने सेटिङसहित आशयपत्र मागेको आरोप लगाए । सरकारले कसैको स्वार्थका लागि आयोजना कसैको जिम्मा लगाउन नहुने उनको भनाई छ ।
सांसद ज्वालाले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा पनि मन्त्री खड्काको बद्नियत रहेको समेत बताए । जगदुल्ला आयोजना ठेक्काका लागि कमिसन खेल भएको उनको आरोप छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पनि ऊर्जामन्त्रीमाथि प्रश्नहरु थपे । किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बेच्ने योजनाबाट किन पछाडि हट्नुभयो ? भन्दै उनले प्रश्न गरे । उनले मन्त्री खड्कामाथि दुई आयोजनाको शेयर सेटिङमा बेच्न खोजेको आरोप लगाए ।
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पनि अख्तियारमा उजुरी परेपछि रद्ध गर्न वाध्य हुनुभएको हो ? भन्दै उनले अर्को प्रश्न गरे । एमाले सांसद ठाकुर गैरेले मन्त्री खड्काले समितिलाई छल्न खोजेको आरोप लगाए । मन्त्री भएदेखि अहिलेसम्म सार्वजनिक रुपमा विवादित विषयहरु सार्वजनिक भएको भन्दै उनले असन्तुष्टि समेत जनाए । यता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पनि मुगु कर्णाली (१९०२ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जलविद्युत परियोजनाहरूको अनुमति बिक्रीका विषय सेटिङमा भएको देखिएको आरोप लगाइन् ।
सांसदहरुले प्रश्नमाथि प्रश्न गरेपछि ऊर्जामन्त्री खड्काले यसको जवाफ दिएका छन् । किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्री सम्बन्धमा कुनै सेटिङ नभएको उनको स्पष्टीकरण छ ।
सांसदहरुले ऊर्जा मन्त्रालयले गरेका पछिल्लो गतिविधि विवादित हुँदा सांसदहरु समेत विवादित बन्नुपर्ने अवस्था रहेको भन्दै गलत काम सच्याउन मन्त्रीलाई सुझाव दिएका छन् ।