
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक ‘व्याटल’ पुनः संसदमा प्रतिविम्वित भएको छ ।
गत माघ १८ गते संसदको पहिलो बैठकमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले प्रतिपक्षीमाथि सत्ता ढाल्ने खेल खेलको आरोपदेखि आफू नेतृत्वको सरकारले सुसासन स्थापित गराई रहेको र तीव्र विकास गरिरहेको भन्दै सिद्धबाबा सडक निर्माण तथा विभिन्न सुरुङको ‘ब्रेक थ्रु’ भएको उदाहारण पेश गरेका थिए । तर बिहीबार संसदमा सम्बोधन गरेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले भने सत्तामाथि अनेकौँ संगीन आरोपहरु थोपरेर काउण्टर दिएका छन् ।
वर्तमान सरकार र सत्ता गठबन्धनमाथि सुरुका दिन देखि नै खरो रुपमा प्रस्तुत हुँदै आएका प्रचण्डले आफू सत्ताको खेलमा नरहेको संसदबाटै दोहोर्याएका छन् । र, प्रधानमन्त्री ओलीले सरकार ढलिहाल्छ भन्दै संसदमै गरेको कटाक्षलाई पनि प्रचण्डले संसदबाटै जवाफ फर्काए ।
प्रचण्डले सुरुकै दिन देखि वर्तमान सरकार विचौलिया निर्मित आरोप लगाउँदै आएका छन् । बिहीबारको संसदमा पनि उनले स्पिनिङ मिलको आइपीओको नक्कली अडिट प्रकरण तथा तत्कलीन सेञ्चुरी बैंकको ऋण प्रकरणमा सरकारले गम्भीर भ्रष्ट्राचार नै गरेको औँल्याए ।
यसका अलावा सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा मात्रै ध्यान दिएको भन्दै प्रचण्डले ओलीमाथि आरोप लगाउँदै ओलीले रोष्टमबाटै प्राधिकरणलाई गाली गरेकोदेखि प्राधिकरण बोर्ड सदस्यहरुलाई हटाएर गलत हर्कत गरेको समेत टिप्पणी गरेका छन् ।
विद्युत नियमन आयोगको दुरुपयोग, प्राधिकरणभित्रै मन्त्रीको कार्यकक्ष निर्माण, कुलमानलाई हटाउनेगरी पटक–पटक स्पष्टिकरण माग गरेर अपमान गरिएको, पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि ट्रंक लाइन र डेडिकेटेडको विद्युत बक्यौता जाँच गर्न अबैध समिति बनाइएको तथा त्यसको अवैध खर्च व्यहोर्नसमेत प्राधिरकणलाई दवाद दिइएको र सरकारी स्वामित्वका विद्युत उत्पादन कम्पनीहरु कौडीको भाउमा बेचर कमिसन खान खोजेको समेत प्रचण्डले सरकारमाथि आरोप लगाएका छन् ।
उता कोशी प्रदेशका एमाले सांसद केही नागरिकलाई लिएर जापान पुगेको तर अध्यागमनबाट फकाईएपनि कारवाही नगरिएको प्रति इगित गर्दै प्रचण्डले सरकारबाट सत्ताको दुरुपयोग भएको भन्दै प्रश्न पनि उठाएका छन् ।
सरकारले ल्याएको अध्यादेश तथा विद्येयकहरुप्रति समेत असन्तुष्टि जनाएका प्रचण्डले आफ्ना नाम जोडेर चर्चा भइरहेका शेरा दरबार काण्ड र क्यान्टोनमेन घोटला प्रकरणमाथि पनि अनुसन्धान गरेर देखाउन ओलीलाई चुनौति दिएका छन् ।
तर उता एमालेले भने संसदमै उभिएर प्रचण्डले सरकारमाथि लगाएका संगीन आरोपहरुप्रति आपत्ति जनाएको छ । प्रचण्ड संसदमा विपक्षीको धर्म निभाउनु भन्दा कुण्ठित रुपले प्रस्तुत भएको एमालेको निश्कर्ष छ । संसदलाई सृजनात्मक र रचनात्मक बहसको थलो बनाउनुपर्नेमा प्रचण्डले कण्ुठा पोख्ने ठाउँ बनाएको एमालेले औँल्याएको हो ।
त्यस्तै प्रचण्डलाई तत्काल जवाफ फर्काएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पनि आधारहीन र तथ्यहीन आरोप लगाएको भन्दै प्रचण्डले सदनमै उभिएर आम जनतामाझ माफी माग्नुपर्ने बताएका छन् । सरकारका कदमहरुको रक्षा गरेका पौडेलले प्रचण्डका आरोपहरु प्रमाणित हुनै नसक्ने जिकिर गरे ।
संसदका अलावा एमालेका अन्य नेताहरुले पनि प्रचण्डलाई काउन्टर जवाफ फर्काएका छन् । प्रचण्डको सम्बोधनमा उपस्थित नभएका प्रधानमन्त्री ओलीले समेत सामाजिक संजालमा टिकटकरसँगको तस्बीर सार्वजनिक गर्दै उनीहरुले अघिल्लो सरकारले जसरी सामाजिक संजाल बन्द नगरी व्यवस्थित गरेर सञ्चालन गर्ने वातावरण बनाउनु भनेर सुझाएको भन्दै प्रचण्डलाई घुमाउरो जवाफ फर्काएका छन् ।
प्रचण्डको सम्बोधनप्रति नै टिप्पणी गिर्दै एमाले महासचिव शंकर पोखरेलले पनि प्रतिपक्षीको असन्तुलित अभिव्यत्ति भनेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै पोखरेलले ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले विपक्षी दलको नेता रहेका ‘प्रचण्ड’ एउटै हुन् कि फरक हुन् ? भन्ने गम्भीर आशंका उत्पन्न टिप्पणी गरेका हुन् ।
महासचिव पोखरेलले प्रचण्डले संसदमा दिएका सबै अभिव्यक्तिहरु सत्ता गुमाउदाको छटपटी मात्र हो वा अरु केही हो ? भन्दै सामाजिक संजालबाटै जनतासँग रायसमेत माग गरेका छन् ।