News 24 Television
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएको माधव नेपालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । 

शनिवार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको बिरोध पनि गरे । उनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरु मिलेर बनएको सरकार ढालेर काँग्रेससँग मिलेर सरकार बनाएको बताए । 

उनले प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको बताए । उनले प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गरे । 

प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएको आरोप लगाए । उनले नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरु तयार रहेको बताए । संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । 

उनले भने ‘अहिले तपाईंले सुन्नुभयो, अध्यादेशको कुरा । अध्यादेश ६\६ वटा अध्यादेश ल्याइयो । हुनतः त्यो भन्दा पहिला पनि तपाईंहरुले सुन्नुभयो, एउटा सरकार चलिरहेको थियो, त्यो सरकार रातारात बदलियो । बदल्नुपर्ने कारण के थियो ? त्यसको औचित्य के थियो ।’ 

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए । माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर गरे । नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरु तयार रहेको बताए । 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update