News 24 Television
आमाको नामबाट नागरिकता सहज बनाउन संशोधन विधेयक पेश

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउनेका लागि नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन संसदमा पेश गरिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ लाई अनुमतिका लागि प्रश्तुत गर्दै गृहमन्त्री लेखकले उक्त विधेयकमा विशेषगरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्तिमा सहज पार्न नागरिकता ऐनलाई संशोधन गर्न खोजिएको बताए । उनले कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे त्यो पनि पाउने व्यवस्था विधेयकमा गरिएको बताए ।

गृहमन्त्री लेखकले भने, 'नेपाली नागरिकता पाउन योग्य व्यक्तिलाई आवश्यक प्रक्रिया पूरा भइ आएको अवस्थामा नेपाली नागरिकता प्रमाणपत्र प्रदान हुँदै आएकोमा नागरिकता प्रदान गर्ने विषयमा सम्मानित अदालतमा मुद्दा परेको र ती मुद्दामा भएका आदेश सहितका विषयलाई सम्बोधन गर्नुपर्ने भएको र नागरिकता प्रदान गर्ने व्यवस्थालाई थप व्यवस्थित गर्नु पर्ने भएको छ । तत्कालिन नेपालको अन्तरिम संविधान २०६३ मा जन्मको आधारमा नागरिकता प्रदान हुने व्यवस्था भई सोही बमोजिम जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नेपालको नागरिकता प्रदान हुँदै आएकोमा बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को जन्मको आधारमा नागरिकता प्राप्त गर्नु अगावै मुत्यु भएको वा आमा सम्र्पक विहिन भएका व्यक्तिका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्न नेपाल नागरिकता ऐन २०६३ को विद्यमान व्यवस्थामा परिमार्जन गर्नु पर्ने भएको छ ।'

कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना नराख्ने गरी सहज व्यवस्थाका लागि विधेयक पेश गरिएको उनकाे भनाइ छ ।

मन्त्री लेखकले थपे, 'कुनै व्यक्तिको जन्म दर्ता वा शैक्षिक योग्यताको प्रमाण पत्रमा बुबाको नाम उल्लेख भएको तर निजको बुबा हाल सम्पर्कमा नभएको भनी निजले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानी निजलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गर्न वा कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बुबाको नाम ठेगाना उल्लेख गर्नुपर्दैन भनि निवेदन दिएमा सोही बमोजिम नेपाली नागरिकता प्रदान गर्न तथा १६ वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्ने सहितका विषयलाई नेपाल नागरिकता ऐनमा समावेश गर्नुपर्ने भएकाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद प्रतिनिधि सभा पेश गर्दछु ।'

उनले नेपाली नागरिकता प्रदान गर्न तथा १६ वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्ने सहितका विषयलाई नेपाल नागरिकता ऐनमा समावेश गर्नुपर्ने भएकाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद प्रतिनिधि सभामा पेश गरेको स्पष्ट पारे ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update