News 24 Television
अध्यादेशमा सरकारको अलमल, वर्षमानमो चलखेलले संशय ! 

काठमाडौं । अध्यादेशका कारण सरकार अलमलमा परेको छ । अध्यादेश पारित गर्न राष्ट्रियसभामा बहुमत नहुँदा देखिएको संकटमोचन कसरी होला भन्ने चासो बढिरहेको बेला अबको केहिदिन अझैं अध्यादेश संसदमा टेबल नहुने देखिएको छ । 

सरकारले ल्याएका विभिन्न ६ अध्यादेश पारित गर्न राष्ट्रियसभामा सत्तापक्षसँग बहुमत छैन । बहुमत नभएपछि सरकारले अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णयबाट पछि हटिरहेको छ । यस्तोमा निर्णायक भनिएको जनता समाजवादी पार्टी नेपालले भने सकारात्मक रहेको भन्दै आफ्नो बचाउ गरेको छ । 

अध्यादेश पारित गराउन निर्णायक रहेको जसपाले निर्णय नदिदाँ अध्यादेश लम्बेतान बन्ने निश्चित भएको छ । यस्तोमा प्रधानमन्त्री केपी ओली आफैले पनि सांसदको संख्या गन्ने बेला नभएको भन्दै अध्यादेश टेबल नहुने स्पष्ट संकेत गरेका छन् । प्रधानमन्त्रीले मतदानको समय नभएको भन्दै अध्यादेश तत्काल संसदमा निर्णयार्थ पेश नहुने निश्चित देखिएको छ । 

दलका आफ्नै दाबी

अध्यादेश पारित हुने नहुने विषय संसदमा निर्णयार्थ पेश भएपछि हुने विषय हो । तर, सत्ता पक्ष र विपक्षी दलका नेताहरुले भने आफ्नै तर्क गरिरहेका छन् । 

यसरी दलीय आधारमा अध्यादेशको विषयमा चलिरहेको विवाद र जुहारीको केन्द्रमा भूमिसम्बन्धिको अध्यादेश केहि विवादमा देखिएको छ । अध्यादेशले केहि राम्रो व्यवस्था गरेको धेरैको स्वीकारोक्ति भएपनि भूमिसम्बन्धिको अध्यादेशमा विवाद उत्पन्न भएको हो । 

एमाले–माओवादी झगडा

एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अध्यादेशबारे सहयोगको अपिल गर्दै फोन गरेको विषयले हंगामा मच्चिएको छ । 

वर्षमान आफैले शंकर पोखरेलले फोन गरेको र अध्यादेश पारित गराउन सहयोग मागेको भन्दै समाचार बनाइदिएपछि पोखरेलले गुनासो गरेका छन् । 

राजनीतिमा कतिपय कुराहरु गोप्य राख्ने प्रवृत्तिका हुन्छन्, यस्तो विषयलाई सार्वजनिक खपतको विषय बनाइनु दुखद् भन्दै गुनासो र आपत्ति प्रकट गरेका छन् । दलबीच आपसी सहकार्य र छलफल सामान्य विषय भएपनि अध्यादेशको विषय सार्वजनिक खपतको विषय बनाइएको भन्दै जुहारी शुुर भएको छ । 

वर्षमानको दाउ

वर्षमानलाई शंकरले फोन गर्ने र सहकार्यको छलफल गर्ने विषय राजनीतिक रुपमा सामान्य विषय हो । राजनीतिमा यस्तो सहकार्यको संवाद सामान्य भएपनि वर्षमानले किन यो विषयलाई सार्वजनिक खपतको विषय बनाए ? सहजै अनुमान लगाउन सकिन्छ,, अध्यादेशका कारण सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने भाष्य वर्षमान स्थापित गर्न चाहन्छन् । 

वर्षमानले राजनीतिक लाभहानीको विषय बनाउनका लागि शंकरले गरेको फोन सम्वादलाई सार्वजनिक गरेपछि यो विषयको बहस थप चर्किने देखिएको छ ।

शंकरको फोनको सन्देश

शंकर पोखरेलले वर्षमानलाई फोन संवाद गर्दै मागेको सहयोगले दुई दलबीचको सहकार्यको बाटो खुल्न सक्ने सम्भावना समेत थियो । तर, अहिले माओवादीमा देखिएको जनलहरको हुंकारका कारण शंकरको फोन विवादित बन्न पुग्यो । 

शंकरले सहयोग मागेको विषयलाई अतिरञ्जित बनाइयो वा बनाउनुपर्ने स्थिति थियो, त्यो समिक्षाको विषय भएपनि वर्षमानले सार्वजनिक गरेको यो विषयले भने संशय मच्चाइदिएको छ । 

दुई दलबीचको सहकार्यको बाटो थप लामो समयका लागि धकेलिदिएको अर्थमा समेत लिन थालिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update