News 24 Television
पुराना दलहरुले देश विगारे, नयाँ दलहरु अधैर्य !  

काठमाडौं । सरकारले ल्याएको अध्यादेशका विषयमा सत्ता पक्ष र विपक्षी दलका नेताहरुबीचको दोहोरी चलिरहँदा साना राजनीतिक दलहरु वैकल्पिक शक्ति निर्माणको खोजीमा रहेका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको महाधिवेशनको शुभकामना दिन पुगेका साना ती दलहरुले ठूला राजनीतिक दलहरुले मुलुकलाई भड्खालोतर्फ लैजान लागेको आरोप लगाएका छन् । 

सत्ता पक्ष र विपक्षी दलका नेताहरु एक अर्कामा हिलो छ्यापाछ्याप गरिरहेका छन् । ठूला राजनीतिक दलहरुको एक अर्कामा जुहारी चलिरहँदा नया उदाएका साना राजनीतिक दलका नेताहरुले भने प्रमुख ३ राजनीतिक दलले देश विगारेको आरोप लगाएका छन् । 

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको आइतबारदेखि काठमाडौंमा शुरु भएको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनीहरुले ठूला राजनीतिक दलहरुको आलाोचना गरेका हुन् । मुलुकमा गरिबी, बेरोजगारी, परनिर्भरता तथा आर्थिक समस्यातर्फ भन्दा पनि प्रमुख ३ राजनीतिक दलका प्रमुख नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने खेलमा मात्रै लागेको डा. भट्टराईले आरोप लगाए । 

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस र एमालेले संविधान संशोधनका विषयमा बहस चर्काइरहेको छ । सरकार निर्माणका क्रममा पनि उनीहरुले संविधान संशोधनको मुल एजेण्डा बनाएका थिए । तर प्रमुख राजनीतिक दलका नेताहरुको चरित्र नसुध्रिएसम्म संविधान संशोधनको अर्थ नहुने विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा बाँस्कोटा बताउँछिन् । ठूला राजनीतिक दलहरुमा कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको उनको भनाई छ । 

संविधान संशोधनमार्फत थ्रेस होल्ड बढाएर आफूहरुलाई निषेध गर्न खोजेको चिन्ता पनि साना दलहरुमा छन् । मुलुकमा दुई दलीय ब्यवस्था शुरु गरेर एकात्मक शासन ब्यवस्था शुरुवात गर्ने प्रयत्न भइरहेको भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशमलाल चौधरी ठूला दलहरुको हैकम तोड्नुपर्ने बताउँछन् । 

ठूला राजनीतिक दलका नेताको आलोचनासँगै उनीहरुले आफूहरुमा पनि धैर्यता नभएको पनि स्वीकारेका छन् । नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्न नहुने भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले धैर्यता राख्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्यालले पनि ठूला राजनीतिक दलहरुले निषेधको राजनीतिक गरिरहेको आरोप लगाएका छन् । 

अहिले दुई तिहाईको बलियो सरकार भए पनि आशंका र बेथिति उत्तिकै रहेको उनको भनाई छ ।  प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईले मधेसवादी दलसँगको एकता र विभाजन हुँदै पुनः नेपाल समाजवादी पार्टी गठन गरेका हुन् । कुनैबेला नयाँ शक्तिको उभार ल्याएका भट्टराईको राजनीतिक शक्ति भने पछिल्लो समय क्षीण बन्दै गएको छ ।

त्यसैले पनि फेरि पार्टीको नामको पछाडि नयाँ शक्ति थपेर भट्टराई बैकल्पिक शक्ति निर्माणको प्रयासमा लागेका छन् । 

त्यसैले पार्टीको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा पनि नयाँ उदाएका राजनीतिक शक्तिहरुलाई आमन्त्रण गरेर त्यसैको झल्को दिने प्रयास गरेको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update