
बुटवल । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभुत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने दाबी गरेका छन् ।
बुधवार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारभुत मूल्य-मान्यतामा कुनै सम्झौता नगरिने बताएका हुन् । वर्तमान सरकार नेपाली काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको भन्दै उनले सरकार बनाउने कुरामा अरुसँग सहकार्य गर्ने विकल्प नरहेकोले बाँकी समय यही सरकारमा बसेर काम गर्ने समेत दाबी गरे ।
महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने परिस्थिति निर्माण भयो । हामीले गरेको होइन । त्यो आफैं निर्माण भएको हो । अब नेपाली काँग्रेसले के गर्ने हो ? नेपाली काँग्रेससँग एक्लै सरकार चलाउनका निम्ति बहुमत छैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार चलाउनुपर्ने स्थिति छ । हामीले अहिले नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौं । यसको पनि विकल्प खोज्ने भनेर कसैले भन्यो भने विकल्प भनेको के हो ? फेरि अर्को पार्टीसँग मिलेर जानुपर्यो । चलचल गरेर बसिराख्ने ? कि नेपाली काँग्रेस पार्टीले एउटा जिम्मा लिउँ । हामी सबै काँग्रेसको नेतृत्व पंक्तिको एउटै अठोट के हो भने समय खेर नफालौँ । यो तीन वर्षको समयको अधिकतम सदूपयोग गर्ने । यो बीचमा सरकार पनि नबदल्ने हो । हामी आलोपालो सरकार चलाउने गरी अहिले नेकपा एमालेको नेतृत्वमा सरकार अघि बढिरहेको छ । निश्चित समयपछि हाम्रो सभापतिको नेतृत्वमा सरकार जान्छ । हामीले सात बुँदै सहमति गरेका छौं । त्यही सहमतिको आधारमा तीन वर्ष सरकार चलाउँछौं । नेपाली काँग्रेस प्रष्ट क कि यदि नेपाली विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरुका सम्बन्धमा सम्झौता गर्नुपर्छ भन्ने आधारमा आउँछ भने ति कुराहरु नेपाली काँग्रेसका लागि सरकारभन्दा महत्वपूर्ण कुरा हो । यसमा काँग्रेस स्पष्ट छ । विश्वास छ एमाले पनि यसमा स्पष्ट छ ।’
सरकार गठन हुँदाका बखत गरिएको सात बुँदे सहमतिको आधारमा नै काँग्रेस–एमालेले आलोपालो सरकार चलाउने उनको भनाइ छ ।