
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा निस्किएका छन् । भारत पुगेपछि पूर्वराजा पोखरा भ्रमणमा निस्किएका हुन् । मठ मन्दिरदेखि जनतासँग भलाकुसारी गर्ने पूर्वराजाको सक्रियता किन बढ्यो ? यो विषयमा चासो बढेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह मठ मन्दिरको भ्रमणमा देशभर निस्किने गरेका छन् । देशका विभिन्न शक्तिपीठमा पुग्ने गरेका पूर्वराजा ज्ञानेन्द्र बिरलैमात्रामा अभिव्यक्ति दिने गर्छन् । तर, उनले दिने प्राय अभिव्यक्ति भने राजनीतिक प्रणाली र देशको उन्नति हुन नसकेको भन्ने गुनासो प्रेरित हुने गर्छन् ।
ज्ञानेन्द्रले कम बोल्ने तर बोल्दा देशको स्थिति बिग्रिएको भन्ने गरेका छन् । केहि समय पहिले भुटान भ्रमणमा भव्य स्वागत पाएपछि नेपाल फर्किदा उनले आफूलाई भुटानले गरेको सम्मान सबै नेपाली जनतालाई नै गरेको भन्दै उनले भ्रमणबारे बोलेका थिए ।
देशका विभिन्न क्षेत्रमा पुग्ने गरेका उनले राजनीतिक प्रणाली र देश बिग्रिएको भन्दै एकताको आह्वान गर्ने गरेका छन् । पछिल्लो समय उनले आफ्नो दौडधुपलाई थप सक्रिय बनाइरहेका छन् ।
भारत भ्रमणको महत्व के ?
पूर्वराजा भारत भ्रमणमा पटक–पटक निस्किने गरेका छन् । ज्ञानेन्द्रले भारत जाँदा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने गरेका छन् । योगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तै ठूला विश्वास पात्र हुन् ।
मोदीको दल भारतीय जनता पार्टीले आफ्नो प्रभाव विस्तार आक्रामक पारिरहेको छ । हिन्दुत्वको नारासहित अघि बढिरहेको भाजपाले दिल्लीमा समेत २७ वर्षपछि दुई तिहाई बहुमतसहित जित हासिल गरेको स्थितिमा पूर्वराजा ज्ञानेन्द्रले योगीसँग भेट्नुलाई समेत अर्थपूर्ण ढंगले हेर्ने गरिन्छ । यता, भारतीय सरकारले नेपालको अहिलेको सरकारलाई हेर्ने नजरियाकै बीच पूर्वराजाले पुस ७ गते नेपालगञ्जबाट लखनउ हुँदै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेटेको बताइन्छ । लामो समयदेखि नेपालगञ्जमा बसेका उनी उतैबाट भारत पुगेका थिए ।
यसरी भारत आउजाउ गरिरहने पूर्वराजा ज्ञानेन्द्रको यो सक्रियतालाई अर्थपूर्ण मानिएको छ । भारतको उदयीमान नेता र भावी प्रधानमन्त्रीको रुपमा कहलिएका आदित्यनाथसँग ज्ञानेन्द्रको तारन्तारको भेटले समेत चर्चा बटुल्ने गरेको छ । उसोतः उनको सक्रियतालाई नेपालमा दलहरुले दुत्कार्ने गरेका छन् । सक्रिय राजनीतिमा आउन चुनौति समेत दिने गरेका छन् ।
माधव नेपालजस्तै एमाले नेता रघुजी पन्त पनि ज्ञानेन्द्रलाई दुई पटक राजा बनिसकेको भन्दै तेश्रो पटक राजा बन्ने प्रयास नगर्न चेतावनी दिनेमा पर्छन् । प्रधानमन्त्री केपी ओली पनि राजतन्त्रबारे खास सुन्न चाहन्नन् ।
प्रधानमन्त्री ओली पूर्वराजाप्रति गर्मागरम सुनिने पात्रमा परेपनि कतिपयले भने उनलाई राजावादीको आरोप समेत लगाउने गर्छन् । यस्तै ज्ञानेन्द्रले नै अयोग्य घोषणा गरेका बर्खास्त गरेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि नेपालमा राजतन्त्र फर्किन सम्भव देख्दैनन् ।
यसरी राजनीतिक रुपमा चेपुवामा पर्ने राजतन्त्रबारे संस्कृतिविद् जगमान गुरुङ भने नेपालीमा चेत खुल्दा राजतन्त्र फर्किन सक्ने जिकिर गर्छन् ।
नेपालमा राजतन्त्रबारेका विभिन्न चर्चा चल्ने गरेका छन् । राप्रपा घोषित रुपमै राजसंस्थाको वकालत गर्ने गर्छ भने अन्य दलहरु अब राजतन्त्र फर्किन असम्भव भन्छन् । यसरी दलहरुले पूर्वराजाको सक्रियतालाई संविधान र कानूनबाहिर जान नहुने भन्दै राजनीतिक चेतावनी दिने गरेका छन् । तर, ती चेतावनीकाबीच पूर्वराजाले शालिन ढंगले शक्तिपीठहरुमा गर्ने भ्रमणले मुलुकको राजनीति भने गर्माएको छ ।
दलहरु किन सशंकित ?
पूर्वराजाको कुनै अभिव्यक्ति आउने बित्तिकै त्यसले तरंग पैदा गर्ने गरेको छ । खासगरी राजनीतिक दलहरु उनको अभिव्यक्ति सुन्ने बित्तिकै तात्तिने गर्छन् । राजकाज छोडेर साामान्य नागरिकजस्तो जीवन बिताइरहेका पूर्वराजासँग किन दलहरु आत्तिन्छन्, शन्देहपूर्ण देखिन्छ ।
आफ्नै कारणले पनि दलका नेताहरु पूर्वराजासँग मनोवैज्ञानिकरुपमा त्रसित छन् । राजतन्त्र फ्यालेर मुलुक गणतन्त्रमा गएको लामो समय बित्दा पनि नागरिकले व्यवस्था परिवर्तन भएको महशुष गर्न पाएका छैनन् । सत्ता, भ्रष्टाचार, सेटिङ, आसेपासे र आफन्तहरुकै उद्दार र व्यवस्थापनभन्दा पर दलहरु जान सकेका छैनन् । आफ्ना यस्ता कमीकमजोरीलाई राम्रोसँग बुझेकै कारण पनि पूर्वराजाले श्वास फेर्दा पनि तर्सिने अवस्थामा अहिले दलहरु छन् ।
पोखरा भ्रमणमा पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला पोखरा भ्रमणमा निस्किएका छन् । रुपाकोट रिसोर्टमा बास बसेका पूर्वराजा दुई साता पोखरामै रहने भनिएको छ ।
उनले पोखरामा राजावादीसँग भेट्ने र विभिन्न शक्तिपीठको भ्रमण गर्ने कार्यतालिका बनेको बताइएको छ । पोखरामा उनलाई पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो । पूर्वराजाले देशका विभिन्न क्षेत्रमा यस्तो स्वागत पाउने गरेका छन् ।
शक्तिपीठको भ्रमणबाटै जनधारणा बुझिरहेका पुर्वराजाको पछिल्लो समयको सक्रियता थप बढेको छ । यसले पनि उनको देश दौडाहप्रति विभिन्न शंकाहरु गर्ने गरिएको छ ।