News 24 Television
कांग्रेसभित्र रडाको नै रडाको, महाधिवेशनको निहुँ मुठभेटतर्फ !

काठमाडौं । पार्टी महाधिवेशनको विषयमा कांग्रेसको माहोल तातिएको छ । कांग्रेसले सबै समयसीमाको उपयोग गर्दा ०८४ को जेठसम्म महाधिवेशन गराउनैपर्ने कानूनी बाध्यता भएपनि अन्तिम इनिङमा रहेका सभापति शेरबहादुर देउवाले के गर्लान् भन्ने विषय चासोमा छ । 

कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो । यो महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा दोश्रो कार्यकालका लागि निर्वाचित भएका थिए । त्यसपछि देउवाको कार्यकाल त्यसको चार वर्षसम्म हुने कांग्रेसको विधानमा उल्लेख छ । 

विधान अनुसार देउवा ०८२ मंसिरसम्म वैधानिक रुपमा पार्टी नेतृत्वमा रहन सक्छन् । यस्तो स्थितिमा देउवाले पार्टी विधान अनुसार विशेष समयावधीको रुपमा केन्द्रिय समितिबाट थप एक वर्षको समय लिन पाउने व्यवस्था छ । यसरी पनि उनले समय पाएमा ०८३ मंसिरसमम्म लिन पाउनेछन् ।

त्यसपछि पनि संविधानले थप ६ महिनाको समय पार्टी महाधिवेशनका लागि दिने भएकाले उनले ०८४ जेठसम्मको समयसीमा पाउनेछन् । यहि विषयलाई केन्द्रमा राखेर डेढ वर्ष अझैं महाधिवेशन नहुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको भनाई छ । 

कांग्रेसको महाधिवेशन थप पाउने सबै समय व्यतित गर्दा ०८४ को जेठमा हुनेछ, भने ०८४ जेठताका स्थानीय तहको निर्वाचन र मंसिरसम्म प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो स्थितिमा कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुनेमा शंका थप बढिरहेको छ । तर, समयमै महाधिवेशनको माग भने चलिरहेको छ ।

कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुनेमा शंका भएपनि इतर पक्षका नेता शेखर कोइरालाले देश दौडाहा भने शुरु गरिसकेका छन् । महाधिवेशनको तयारीका लागि उनले नेताकार्यकर्ता भेट्नेदेखि विभिन्न काम गरिरहेका छन् । 

जसमा उनलाई सुजाता कोइरालाले अबको सभापति भन्दै शेरबहादुर देउवालाई असक्षम नै भनिदिएकी छन् । कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको संकटमोचन कसरी होला ? यो चासोको विषय बनेको छ भने नेतृत्वको दौडधुप पनि बाक्लिएको छ । यस्तो दौडधुपकाबीच गगनले पनि महाधिवेशन ०८४ को सम्मुखमै हुने संकेत गरिरहेका छन् । गगनले –८४ को निर्वाचनपछि महाधिवेशन हुनै नसक्ने भन्दै गर्दा स्थानीय तहको निर्वाचन वा संघ र प्रदेशको निर्वाचन पछि भन्ने कुरा खुलाएका छैनन् ।

कांग्रेसमा देखिएको नेतृत्वको दौडमा देउवाले महाधिवेशन गर्ने समयसीमालाई कसरी व्यस्थापन गर्छन् भन्ने विषयले धेरै कुरा खुल्ने देखिन्छ । तर, इतर पक्षको निरन्तरको दबाब, केन्द्रीय समितिको सन्तुलन लगायतका विभिन्न विषयले समेत महाधिवेशनको समयबारे थप खुल्नेछ । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update