काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् ।
आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायत मन्त्री र नेताहरूले उपचचाररत उपप्रधानमन्त्री पौडेललाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन् ।
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । दुवै जनाको बर्न अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रपति, सभामुख, मन्त्रीहरुले उपचाररत पौडेल र आचार्यलाई भेट गरी स्वास्थ्यलाभको कामना गरे ।
भेट्नेहरूकाे लर्को लागेपछि थप संक्रमण बढ्न सक्ने भन्दै अस्पतालले भेटघाटमा रोक लगाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले भेटघाट पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ । उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले बताएको छ ।
