News 24 Television
सीके राउतका नेताहरु बन्दुक घुमाउदै ! टार्गेट कसलाई ?

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान हातहतियारसहित हिडिरहेका देखिन्छन् । विशेषगरि मुलुकका अन्यत्र क्षेत्रभन्दा मधेश क्षेत्रमा सुरक्षा चुनौति बढ्दो क्रममा छ । मधेशमा शान्ति सुरक्षामा विशेष ध्यान दिनुपर्ने भन्दै विभिन्न प्रश्न उठ्ने गरेका समय खानेपानीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका खानको हतियार मोहले विधायिकी मनशायमा गम्भीर प्रश्न उठेको छ । 

यी हुन, जनमत पार्टीका उपाध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य अब्दुल खान । सत्तारुढ दलको बैठकदेखि खानेपानी मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका खानले के गर्न खोजेका हुन् ? हतियारसहितको स्कर्टिङले उनलाई के लाभ भयो ? त्यो उनैले जानून । तर, सुरक्षा चुनौति र मधेसमा देखिने समस्याकाबीच खानले देखाएको रवैया भने शान्ति सुरक्षा चुनौतिको विषयलाई बढवा दिने प्रकारको प्रष्ट छ । आफुले मन्त्री भएका समय कामको रफ्तार उच्च बनाएको दाबी गरिरहने उनी नेताहरु र मन्त्री सबैले आफ्नै रफ्तारमा काम गरे देश बन्न समय नलाग्ने दाबी समेत गरिरहने व्यक्तिमा पर्छन् । 

हतियार मोहमा चुर्लुम्मै डुबेका खान डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष हुन् । राउतको विश्वासपात्र समेत रहेका खान बालुवाटारमा हुने सत्तारुढ दलको बैठकको लहरमा समेत ठाँटिएर बसेका देखिन्छन् । जनमत पार्टीको तर्फबाट कुरा राख्नेदेखि सत्ता समिकरणले गर्ने निर्णयमा समेत ब्रिफिङ गरिरहने उनको हतियार मोह भने अचम्मकै देखियो । 

कानून निर्माण गर्ने थलो प्रतिनिधिसभामा पुगेका खानले बन्दुक वरिपरी राखेर फिल्मको सुटिङ जसरी हिडडुल गर्ने, गाउँमा ठाट देखाउने गरेको देखिएपछि प्रहरीले सामान्य सोधपुछ गरेर हतियारलाई इजाजतप्राप्त भन्दै छाडिदिएको छ । 

यसले राज्य शक्तिमा रहेपछि यस्ता गतिविधि कसरी वैध हुन्छन् भन्ने विषयमात्रै उजागर गरेको छैन्, खानको चेतनास्तरमै प्रश्न उब्जिएको छ । यसै त मधेश प्रदेशमा सुरक्षा चुनौति उच्च छ, त्यसमाथि जनप्रतिनिधिले नै हतियारको ठाट देखाउदै हिडेपछि जोखिमको स्तर सतहमा प्रष्टियको छ । मधेसमा देखिएको सुरक्षा चुनौतिबारे अधिवक्ता समेत रहेका मधेस मामलाका जानकार विकासकुमार ठाकुर यस्तो भन्छन् । 

मधेस सुरक्षा संवेदनशीलताका हिसाबले पनि अत्यन्तै चिन्ताजनक स्थितिको मानिन्छ । मधेसमा दाइजो नल्याउने महिलालाई आगो लगाउनेदेखि प्रेम सम्बन्धका कारण आफ्नै बालिकाको हत्या गर्ने गरेका घटना व्याप्त देखिन्छन् । यी घटना मधेसबाहेकमा हुँदै नहुने भने होइनन् । तर, मधेसमा भारतसँगको खुला सीमाका कारण सीमापार अपराध समेत चल्ने गरेको छ । 

यस्तोमा खानले देखाएको रवैयाले सुरक्षा चुनौति थपिदिने काम मात्रै गरेको छैन्, उनको विधायिकी मनशामै प्रश्न उब्जिएको छ । प्रतिनिसभामा कानून निर्माण गर्ने जिम्मामा रहेका खान खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पात्र हुन्, अनि उनको दल राष्ट्रिय दल समेत हो । राष्ट्रिय स्तरको दलको  उपाध्यक्ष जस्तो उच्च पदमा आसिन उनले बन्दुक लिएर गाउँभर डुल्नुलाई नै उनको चेतनास्तर र शोखको विषयमा अनेक प्रश्न उब्जिएका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update