
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम नोकझोक र प्रश्न साटासाटमा परिणत बन्न पुगेको छ । सत्तापक्षले सोधेका प्रश्नमा नरम, प्रतिपक्षले सोधेका प्रश्नमा गरम देखिएका प्रधानमन्त्री केपी ओलीले रोचक जवाफ दिएका छन् । यस्ता जवाफ, प्रश्न र राजनीतिक संस्कारले मुलुकको विकासलाई टेवा पु¥याउला ?
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उभिएर सांसदहरुले राखेका जिज्ञासामा जवाफ दिने काम प्रचलन नै बसालिएको छ । यसमा जनताकोतर्फबाट सांसदले जिज्ञासा राख्ने र प्रधानमन्त्रीले जवाफ दिनेबाहेक होइन । यस्तो प्रश्नोत्तरमा पहिले नै प्रश्न टिपाउनुपर्ने र ती प्रश्नहरु प्रधानमन्त्रीलाई पठाएर रुजु गरेपछिमात्रै संसदमा सवाल–जवाफ चल्ने गर्छ ।
यी बहसहरु जनतातर्फ केन्द्रित हुनुपर्नेमा सवाल–जवाफको स्थिति सिर्जना हुनुले संसदीय प्रणालीमा नै प्रश्न उठ्ने गरेको छ । प्रतिनिधिसभामा जनताकोतर्फबाट सोधिएका प्रश्नमा राजनीतिक आवेगभन्दा बाहिर समस्या समाधान, राजनीतिक सहकार्य र थप सिर्जनशीलताका लागि हुनुपर्नेमा दलीय समिकरणको आधारमा हुने सवाल–जवाफले संसदको गरिमामाथि नै प्रश्न उठ्न थालेको छ ।
संसदमा के भयो ?
प्रधानमन्त्री केपी ओलीलाई प्रश्न सोध्न सांसदले प्रश्नसहित नाम टिपाएपछि सभामुखले यसको छिनोफानो गर्ने गर्छन् । यसरी चलेको प्रश्नोत्तरमा संसदमा रोचक स्थिति देखा प¥यो । त्यसमा प्रतिपक्षी दलका सांसदहरु परे । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका सांसद वर्षमान पुनले अध्यादेशदेखि अर्थतन्त्रबारेका प्रश्नहरु गरे । उनले मूल्यवृद्धि, पुजीँगत खर्चमा देखिएको सुस्तता लगायत विषयमा प्रश्न गरे ।
वर्षमानको यो प्रश्नमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे । तपाई अर्थमन्त्री भएको होइन ? त्यो बेला के गर्नुभयो ? ओलीलाई प्रश्न गर्ने अर्का सांसद थिए, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला । उनले पनि ओलीलाई १६५ वटा निर्वाचन क्षेत्रमा शिलान्याश गरिएका सडक र एक पालिका एक अस्पताल अपलत्र परेको प्रश्न गरे ।
ज्वालाको यो प्रश्नको सहज जवाफ दिनुको सट्टा ओलीले उनलाई भनिदिए, तपाई भौतिक योजनामन्त्री भएको बेला किन काम गर्नु भएन ? भन्दै प्रतिप्रश्न गरे ।
यसरी प्रतिपक्षी सांसदमाथि प्रधानमन्त्री ओलीले सालिनतापुर्वक जवाफ दिनुपर्नेमा प्रतिप्रश्न गर्दै स्थितिलाई थप रोचक र पेचिलो बनाए ।
प्रभु साहसँग नोकझोक
प्रश्नोत्तरको क्रममा अन्तिममा थिए, आम जनता पार्टीका अध्यक्ष प्रभु साह । साहले प्रधानमन्त्री केपी ओलीलाई सोधेको प्रश्न भने केहि आक्रामक थियो ।
प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओली शुरुमै आक्रामक बने । भाषा शैली नमिलेको भन्दै ओलीले गएको ७ महिनामा मैले नै सबैलाई विदेश पठाएको हो ? भन्दै आक्रोश पोखे ।
ओलीले यस्तो क्रोध पोखेपछि साह उठे र प्रश्न गर्न खोजे । साह उभिएपछि सभामुखले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पुरा भइसकेको र यसको कार्यविधि पहिले नै निर्देश गरिसकेको भन्दै बोल्ने समय दिन मानेनन् ।
सभामुखले यस्तो निर्देश गर्दागर्दै ओलीले जवाफ दिन आवश्यक नभएको भन्दै साहको प्रश्नको जवाफ नै दिएनन् । यसरी संसदमा चलिरहेको रोचक र पेचिला जुहारीले समाजलाई पार्ने प्रभावको विषयमा भने खास छलफल नै हुन सकेको देखिन्न । उसोतः एमालेबाट प्रतिनिधिसभाको टिकट लिएर अन्तिममा साहले एमालेलाई जिल्याएका थिए ।
त्यसपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिदै प्रतिनिधिसभामा निर्वाचित भएका थिए । साह आम जनता पार्टी स्थापना गर्दै छुट्टै राजनीतिक अभ्यास गरिरहेका छन् । यसकारण एमाले र साहको पुरानो सत्रुता पनि छ ।