News 24 Television
सरकारलाई सांसदहरूको प्रश्न : धुलो लागेका भ्रष्टाचारका फाइल कहिले खोल्ने ?

काठमाडौँ । प्रतिनिधि सभा बैठको शुन्य समयमा सांसदहरुले जनचासोका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले विभिन्न जनचासोका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

राष्ट्रिय स्वतन्त्र सांसद मनिष झाले १४ सय विघा जग्गासहितको ७२ कुण्ड र ५२ कुटी भनेर परिचित अध्यात्मिक केन्द्र जनकपुरको जग्गा लुटिएको बताए  । उनले १२ सय बिघा जग्गा दलाल र जनप्रतिनिधिनै मिलेर निजीकरण गरेकाले खोजतलास गरी पुनः स्थापित गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद झाले भने, ‘जनकपुर १२ हजार वर्ष अघि अस्तित्वाम आएको भन्ने आत्ध्यात्मिक इतिहास छ । १७ औँ शताब्दीमा मकवानपुरका राजा मानिक सेन र रानी इन्द्र विधाता सेनले १४ सय विघा जग्गा दिएर जनपुर पुनर्निमाण गराए । त्यसपछि ७२ कुण्ड र ५२ कुटीको शहरको रुपमा परिचित भयो । तर अहिले १४ विघामा २ सय विघा मात्रै बाँकी छ ।पुराना दलका सबै नेता, स्थानीय जनप्रतिनिधि, ठेकेदार दलाल सबै मिलेर १२ सय विघा लुटिसके । त्यसको सम्बन्धमा मैले पटक पटक आवाज उठाउँदै गर्दाखेरि, हामी सरकारमा हुँदै गर्दा त्यसको खोजतलासका लागि केही कमिटी र प्रतिवेदनहरु पनि काम गरेका थियौँ अहिले वर्तमान सरकारलाई त्यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने गरे पनि १८० देशमध्ये नेपाल १०७ औँ भ्रष्टाचार हुने मुलुकमा पर्नु दुःखद् भएको बताइन् । उनले धुलोले टाँसिएका फाइलहरु कहिले खोल्ने ? ढिला भएन र ? भन्दै प्रश्न गरिन् ।

सांसद कार्कीले भनिन्, ‘भ्रष्टाचार र सुशानसम्बन्धी निगरानी गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेश्लनका अनुसार १८० वटा देशमध्ये नेपाल १०७ मा पुग्यो । बधाई छ भ्रष्टाचारीहरुलाई नेपाल दिनप्रतिदिन भ्रष्टाचारको ग्राफमा उकालो लाग्दैछ  । हामीहरु भ्रष्टाचाररहितको सुशासनको कल्पना गर्छौं । प्रधानमन्त्री रोष्टममा उभिएर भन्नुहुन्छ म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भनेर । नेपाल कसरी १०७ मा पुग्यो । म सरकारलाई प्रश्न गर्छ धुलो लागेको फाइलहरु कहिले धुलो टकटक्याउने ? फाइल कहिलिे खोल्ने ? हामी भ्रष्टाचारीको मुलुक भएर बस्ने ? सरकार अब अति भयो। ढिला नगरौँ ।’

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले मकवानपुरमा रहेको अन्टार्टिका बिस्कुट फ्याक्ट्रीमा व्यवस्थापनले हटाएको ९६ जना मजदुरलाई तुरुन्त काममा फर्काउन सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गराए । अन्य सांसदहरुले पनि विविध जनसरोकारका विषय उठाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update