काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो टिप्पणी गरेका हुन् । उनले कार्यकारी निर्देशक खड्काले सरकारलाई नटेरेको र सञ्चालका समितिका निर्णयहरु कार्यान्वयन नगरेको आरोप लगाएका छन् । उनले विद्युतको क्षेत्रमा सतप्रतिशत लगानी सरकारकै भएको समेत दाबी गरे । कुलमान आएपछि लोडसेडिङमुक्त नभई पहिले नै ट्रान्समिसन लाइन बनेका कारण भारतबाट विद्युत आयात गरिएकोले लोडसेडिङ मुक्त भएको दाबी गरे । कुलमानले राम्रो काम गरेको भए विश्लेषण गरेर पुरस्कार दिन सकिने भए पनि देवता नै मान्न नहुने मन्त्रीको भनाइ छ ।
उनले भने, ‘अहिले नेपाल विद्युत प्राधिकरणका एमडीको कारणले लोडसेडिङ नभएर उत्पात भएजस्तो मान्नुहुन्छ । तत्कालिन अवस्थामा ८ वर्ष अगाडि नेपालको आवश्यकता लोडसेडिङ हुन नदिनका लागि साढे चार सय मेगावाटको आवश्यकता रहेछ । त्यो कम भएको विद्युत भारतबाट ल्याइयो । भारतबाट विद्युत ल्याउनका लागि त पहिले नै ट्रान्समिसन लाइन बन्नुपथ्र्यो होला नि । त्यो ट्रान्समिसन लाइन कसका कारणले बनेको हो ? अनि उहाँ देवता हुनुभयो ? अचम्म लाग्छ । उहाँले केही राम्रो काम गर्नुभयो होला । त्यसका लागि पुरस्कार के दिनुपर्छ दिउँला । सञ्चालक समिति निर्णय गर्छ उहाँ कार्यान्वयन गर्नुहुन्न । सरकारलाई टेर्नुहुन्न । सतप्रतिशत लगानी सरकारको छ । कर्मचारीहरु भाषण गर्दै जानुहुन्छ । तपाईले नोटिस गर्नुपर्छ उहाँको गतिविधिलाई यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्ने कुरा त हुँदैन । लगाम त लाउनुपर्छ । तर एउटा कर्मचारीको विषयमा सम्मानित विषयमा किन यति ठूलो कुरा गर्नुपरेको मलाई अचम्म लागेको छ ।’
नेपाल सरकारको एक कर्मचारीको विषयलाई लिएर तथ्यहिन कुरा नगर्न उनले सबैमा आग्रह समेत गरे ।
