काठमाडाैँ । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलवारको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित गरेको हो ।
प्रतिनिधि सभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए ।
प्रश्तावउपर सांसदहरुले छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए । जवाफपछि मन्त्री भण्डारीले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरे । प्रश्तुत प्रश्तावलाई सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
मन्त्री भण्डारीले अनलाईनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन ‘विद्युतीय व्यापार विधेयक’ ल्याइएको बताए । उनले विधेयकमा छलफलका क्रममा आएका संशोधनहरुलाई नियमावली र कार्यविधिमा समावेश गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । प्रविधिको विकाससँगै आवश्यक भएका प्रावधानहरु समयक्रमसँगै नियमावली र कार्यविधिमा समावेश गरेर कानूनलाई थप समृद्ध बनाउँदै लैजाने उनकाे भनाइ छ ।
