News 24 Television
राजतन्त्रको पक्ष–विपक्षमा सातै प्रदेशमा यस्तो धारणा   

काठमाडौं । पूर्वराजाको भिडियो सन्देशले राजावादीहरु हौसिएका छन् । पूर्वराजा ज्ञानेन्द्रको भिडियो सम्बोधनपछि राजावादीहरुले खुशी मनाइरहेको बेला प्रजातन्त्र दिवस मनाइरहेका सर्वसाधारणले राजतन्त्रप्रतिको धारणा कस्तो राख्लान् ? 

यो आम चासोको विषय हो । ठूलो राजनीतिक आन्दोलनबाट बाहिरिएको राजसंस्था फर्किने नफर्किने निर्णय जनताले गर्ने भएपनि गणतन्त्रात्मक शासन सत्तामा सर्वसाधारणको मत कस्तो छ ? हामीले सातै प्रदेशमा सर्वसाधारणसँग सोधेका छौं । अब हेरौं, सर्वसाधारणको धारणा ।

राजनीतिक दलमाथिको प्रतिबन्ध, आवधिक निर्वाचनमा हस्तक्षेप, नेताहरुलाई बन्दी बनाउने, राजसंस्थालाई भगवानको रुपमा मान्नुपर्ने लगायतका धारणासहित सर्वोच्च पद सम्हाल्ने राजसंस्था गणतन्त्रको स्थापनासँगै इतिहास बनिसकेको छ । तर, अन्तिम राजाको रुपमा रहेका ज्ञानेन्द्र शाह भने राजनीतिक दलले आफूसँग गरेको सहमति पालना नगरेकोदेखि देशमा प्रजातन्त्रको स्थिति बिग्रिन थालेको चिन्ताबाट अब हस्तक्षेप गर्नुपर्ने स्थिति आइलागेको भन्न थालेका छन् । तर, सर्वसाधारणको धारणा भने राजसंस्थाप्रति त्यति सकरात्मक पाइदैन । 

राजाको स्थानमा राष्ट्रपति आए तर, उनीहरु दलीय आधारमा चल्न खोजे । यस्तो स्थितिका कारण मियो चाहिन्छ भन्दै राजतन्त्रको पक्षमा वकालत गर्नेहरु पनि उत्तिकै देखिन्छन् । 

सर्वसाधारणहरु राजनीतिक दलले शासन सञ्चालन गर्दा भ्रष्टाचार नियन्त्रणमा चुक्न थालेको, सुशासनको पक्षमा काम गर्न नसकेको, न्यायालयको वेथिति लगायतका विषयबाट दिक्दारी पोखिरहेका देखिन्छन् । 

राष्ट्रपतिले पनि कार्य सम्पादनमा देखाएको दलीय पक्षधरताका कारण पनि जनतामा आक्रोश उत्तिकै पाइन्छ । तर, गणतन्त्रात्मक शासन प्रणालीको विकासमा देखिएको सत्ता सञ्चालनको अवरोध नै राजतन्त्रको पक्ष विपक्षमा जनमत निर्माणको स्थिति थप पेचिलो बन्ने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update