News 24 Television
ट्रम्पको भनाइले अमेरिकामा बस्ने लाखौँ नेपालीको शिर झुक्यो : सांसद शाही

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शिर्षकमा आएको रकमको हिसाव माग्नुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो  बताएका हुन् ।

उनले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भन्नुभएकाले कसले र किन ल्यायो छानबिन गरी कारबाही गर्नुपर्ने बताए । उनले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शिर झुकेको भन्दै भ्रष्ट नेताहरुकै कारण यस्तो भएको जिकिर गरे ।

नेपाल राष्ट्र बैंकको अनुमतिबिना विदेशी रकम भित्र्याउन नपाउने भन्दै गभर्नरलाई समिति बैठकमा बोलाएर रिपोर्ट माग्नुपर्ने उनको भनाइ छ । 

शाहीले भने, ‘भर्खरै राष्ट्रपतिमा जितेका अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भ्रष्टको देश भनिसक्नु भयो । किन भनियो भने संघीयताको शिर्षकमा आउने २० मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ७६ अर्ब ६४ लाख रुपैयाँ र नेपालमा जैविक विविधताका संरक्षण अन्तर्गत दिन लागिएको १९ मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग यो चाहीँ भष्ट्राचारीले लिए, यो फ्रड हो भन्दिनुभयो । अमेरिकाको राष्ट्रपतिले नेपालको नाम लिँदाखेरि फ्रड(भ्रष्टाचारी) किन भन्नुभयो भने हाम्रो देशको नीतिनै त्यो भएर भन्नुभयो । अमेरिकाको र नेपालको सम्बन्ध २००४ साल फागुन ६ गते भएको हो । २०१५ मंसिर २९ गते संयुक्त राष्ट्रसंघको सदस्य भएका छौँ । राजा महेन्द्र र राजा वीरेन्द्र अमेरिका भ्रमणमा जाँदा सिंगो देशनै बन्द गरेर स्वागत गरेको देश हो अमेरिका जहाँ अहिले लाखौँ नेपाली बस्छन् ति नेपालीको शिर निहु¥यो कि निहुरिएन ? त्यसकारण त्यो पैसा ल्याउने को को हुन् ? को को बद्मास फटाहाहरु हुन् फ्रड गर्ने ? यिनीहरुको हिसाव किताव राष्ट्र बैंकको गभर्नरलाई आउने समितिको बैठकमा राखेर यसको एक एक जवाफ समितिबाट पत्राचार गर्नुप¥यो । किनभने यो पैसा कहाँ आएको छ अराजकता फैल्याउनलाई ? अमेरिकाको राष्ट्रपतिले नै यो यो भ्रष्टाचार हो भनिसकेपछि ति भ्रष्टाचारी को हुन् त ? कस्ले ल्यायो त्यो पैसा ? कहाँ छ ? कसरी आयो ? यसको हिसाव एकएक गरी समितिबाट पत्राचार गरेर माग्नुपर्छ । यो समितिको माताधिकार र क्षेत्राधिकारभित्र पर्छ त्यसको जवाफ अर्को समितिको बैठकसम्म राष्ट्र बैंकलाई पत्रचार गरेर यसको रिपोर्ट चाहियो सभापतिज्युलाई अनुरोध गर्छु ।’

प्रमुख सचेतक शाहीले एमसीसी पास गर्नेहरुप्रति व्यङ्ग्य गर्दै अमेरिकाले चिलिम देखाएपछि उनीहरु देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुग्न लागेको जिकिर समेत गरे । उनले एमसीसीमा नेपालको पनि पैसा परेको र त्यो खेर जाने अवस्थामा पुगेको दाबी गरे । 

शाहीले भने, ‘एउटा गीत थियो अमेरिका जाऔँ चीन जाऔँ ६० अर्ब मागौँ, भारत जाऔँ ५० अर्ब मागौँ । अमेरिकाले चिलिम देखाइदियो अब देश छोडेर भागौँ भन्ने भाछ । एमसीसी भनेर बहुत कराउनुभएको थियो त्यतिखेर । एमसीसीमा हाम्रो पनि पैसा परेको छ । १९.७ करोड अमेरिकी डलर झन्डै २१ अबै पैसा हुन्छ । त्यसबाट आधाभन्दा बढी पैसा खर्च गरिसक्या छन् विभिन्न कम्पनीका नाममा । कार्यालय होटल याक एण्ड यतिमा खोलेका छन् जहाँ हामी सांसदहरुले चिया खान सक्दैनौँ । त्यसतो ठाउँमा कार्यालय खोलेर देशको राजश्व लुटेर संसदमा वितण्डा मच्चाएर आज त्यो एमसीसीले चिलिम देखाएको छ यहाँ, रोकियो । यो पैसा चाहीँ कसले तिर्ने हो ? अमेरिकाको त पैसा आयो आएन त्यसैले जानुन्  हाम्रो करिव १९.७ करोड अमेरिकन डलर त नेपाल सरकारको पनि परेको छ । नेपाली जनताले चिया खाने पैसा कटौती गरेको ट्याक्सको रुपैयाँ त्यहाँ परेको छ ? यतिखेर को को हुन् जवाफदेहि ? यो समितिको विषयवस्तु बन्छ । किनभने हाम्रो पैसा त खेर गयो नि । आज लथालिङ्ग भएका छन् आयोजना योजनाहरु । यो सेतो भ्रष्टाचार भएको हुनाले सिग्नेचर गर्ने को को हुन् ? हुलदंगा गरेर पास गर्ने को को हुन् ? यसको जवाफ माग्छु ।’

भ्रष्ट नेताहरुकै कारण नेपालको अर्थ व्यवस्था तथा अयोजना योजनाहरु लथालिङ्ग भएको भन्दै उनले सेतो भ्रष्टाचार गर्नेहरु को को हुन् ? छानविन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update