
काठमाडौं । भारतको महाकुम्भ मेलामा सहभागी हुन भारत जाने कार्यक्रम तय गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रमण स्थगित गरेका छन् । अन्तिममा आएर देउवाले गरेको भ्रमण रद्दलाई राजनीतिक वृत्तमा भने चासोका साथ हेरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा महाकुम्भ मेलामा सहभागी हुन लागेका थिए । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा सहभागीता जनाउने कार्यक्रम अन्तिममा देउवाले स्थगित गरेका हुन् ।
जुन कार्यक्रममा देउवाले सम्बोधन गर्ने कार्यक्रम समेत तय भइसकेको थियो । इन्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको कार्यक्रममा देउवा आउने भन्दै प्रचार गरिएको थियो ।
देउवाले नेपालको पूर्वप्रधानमन्त्रीको हैसियतमा कुम्ब ग्लोबल समिट कार्यक्रमलाई सम्बोधन गर्ने भनिएको थियो । यसरी हेर्दा उनी वक्ताको रुपमा जाने कार्यक्रम तय भएको देखिन्छ । तर, बिहीबार जानुपर्नेमा देउवाले कार्यक्रम स्थगित गरेका हुन् । ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ को वक्ताका रूपमा देउवाले गर्ने सम्बोधन यो संगै समाप्त भएको छ ।
किन गएनन् देउवा भारत ?
तामझामका साथ भारतले कुम्भ मेलालाई विश्वव्यापीकरणको प्रयास गरिरहेको छ । यस्तोमा नेपालबाट देउवालाई बोलाएर सम्बोधन गराउदा राम्रो सन्देश जाने भारतीय पक्षको चासो थियो । तर, उच्चस्तरिय राजनीतिक भेटवार्ताको चाँजो नमिलेपछि देउवाले भ्रमण नै स्थगित गरिदिएका हुन् ।
देउवाको यो भ्रमणलाई कांग्रेसले वेटिङ प्रधानमन्त्रीको रुपमा भव्य बनाउने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेट्ने अपेक्षा गरेको देखिन्छ । तर, भारतीय पक्षले यस्तो चाँजो नमिलाएपछि देउवा विच्किन पुगेका हुन् ।
आरजुको सक्रियताले गरेन काम
परराष्ट्रमन्त्री आरजु राणा देउवाले पति समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भारतमा उच्च सम्मानको अपेक्षा स्वभाविक रुपमा गरिरहेको देखिन्छ ।
आरजुले केहिदिन पहिले मात्रै पनि भारतीय समकक्षी एस जयशंकरसँग भेटेर दुई देशको सम्बन्धदेखि अन्य विषयमा छलफल गरेको बताइन्छ ।
आरजुले जयशंकरसँग देउवाको भ्रमणलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कोणबाट समेत छलफल गरेपनि भारतीय सत्ता पक्षले यसलाई चासोका साथ नलिदा समस्या सिर्जना भएको स्थिति छ ।
इन्डिया फाउन्डेसन र आरजु
आरजु राणा देउवाले पुस ४ मा दिल्ली ओर्लिएपछि भारती उच्च अधिकारीसँग भेट्ने कार्यक्रमको चाँजो मिलेन । अघिल्लो पटक उच्च सम्मान पाएकी आरजुलाई पछिल्लो पटक गरिएको व्यवहारमा धेरै शंका उत्पन्न भयो । तर, उनले पुस ८ गते इन्डिया फाउन्डेसनको भेटघाट कार्यक्रम चल्यो । जसमा उनले फाउन्डेसनका अध्यक्ष राम माधवसँग भेटिन् ।
यो भेटलाई भारतले सहज रुपमा लिन सकेन र उनलाई स्पष्टीकरण नै सोधिएको बताइन्छ । भारतीय जनता पार्टीले परराष्ट्र मामलामा जानकारी र अनुमति बेगर भेटवार्ता गरेको भन्दै एक्सन नै लिएको थियो । त्यो बेलादेखि नै नेपाल–भारत सम्बन्धको विषयमा अनेक चर्चा हुने गरेको देखिन्छ । राम माधव कुनै बेला भाजपाको महासचिव समेत बनिसकेका व्यक्ति हुन् । भने इन्डिया फाउन्डेसन अहिले भारतको थङ्क ट्याङ्कको रुपमा चिनिन्छ ।
यहि संस्थाले गरेको कार्यक्रममा देउवाले सहभागीता जनाउने विषयलाई अर्थपूर्ण मानिएपनि भारती सत्ता पक्षको व्यवहारपछि देउवा फेरि रोकिएका हुन् । राम माधव अहिले पनि शक्तिशाली छन् । तर, यहि फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा देउवाको भ्रमण स्थगित हुनुलाई नयाँ शीराबाट हेर्न थालिएको छ ।
चिसिदै सम्बन्ध
नेपाल भारतबीचको सम्बन्ध चिसिदै गएको छ । प्रधानमन्त्री केपी ओलीले सत्ता सम्हालेको लामो समय भएपनि भारतले भ्रमणको निम्तो दिएको छैन भने भारतीय पक्षले नेपाल मामलामा खास चासो समेत नदेखाएको स्थिति छ ।
ओली नेतृत्वको सरकारमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक बन्न नसकेको बेला सत्ता साझेदार दल कांग्रेसका सभापतिलाई बोलाएर केहिहदसम्म सुधारको अपेक्षा गर्न थालिएको शंका गरिएको थियो । तर, देउवालाई पनि उच्च चासो नदिदा रोकिएको भ्रमणले दुई छिमेकीको सत्ता सम्बन्धमा दरार उत्पन्न भएको अर्थमा हेरिएको छ ।
किन विच्कियो भारत ?
भारको ओडिसाको केआईआईटी विश्वविद्यालयमा घटेको घटनाले दुई देशको सम्बन्धमा नै शंका उत्पन्न गराइदिएको छ । भारतीय कलेजमा भएको घटनामा नेपाली पक्षले अधिक लचिलोपना देखाइरहेको बेला सञ्चार माध्ययमा चलेका विभिन्न चर्चापछि नेपालमा पनि चासो स्वभाविक बन्यो ।
सरकारमाथिको दबाबपछि चलेका विभिन्न कुटनीतिक प्रयासले पनि काम गर्न नसकिरहेको बेला नेपालले विद्यार्थी प्रकरणमा राजनीति गर्न खोजेको भारतीय पक्षले बुझेको देखिन्छ । देउवाको सम्बोधन र भेटवार्ताको चाँजो लगभग मिलिसकेको बेला यो प्रकरणले कुरा विग्रिन पुगेको बताइन्छ ।
नेपालले आफ्ना विद्यार्थीलाई सम्हालिएर बस्न र कुटनीतिक पहलबाटै समस्या समाधान गर्न तदारुकता देखाउनुको सट्टा भारतविरोधी गतिविधि गरेको र सत्तारुढ दलका विद्यार्थीले दूतावास अघि प्रदर्शन गरेको विषयलाई पनि गम्भीर रुपमा लिएको दाबी गरिएको छ । यहि कारण पनि सम्बन्धमा दरार आइरहेको दाबी जानकारहरुले गर्न थालेका छन् ।