News 24 Television
ट्रम्पले ‘फ्रड’ भनेपछि नेपालमा तरंग, खोजिनथाल्यो ५ अर्ब ४३ करोडको हिसाब ?

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले विदेशी सहायताहरु कटौती गर्दै जाने रणनीति लिएका छन् । जसअन्तर्गत अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) तथा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पनि तत्कालका लागि बन्द भएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने देखिन्छ । 

यी सहयायतामार्फत नेपालमा विभिन्न क्षेत्रमा विकासका कार्यक्रमहरु चल्दै आएकोमा ट्रम्पको यो निर्णयले कतिसम्म प्रभाव पर्छ ? भन्ने आँकलन गर्न थालिएको छ । त्यस्तै केही दिन अघि मात्रै राष्ट्रपति ट्रम्पले नेपालको मामलामा बोल्दै आफूहरुले संघीयता कार्यान्वयन र जैविक विविधता संरक्षण गर्न दिँदै आएको रकममा भ्रष्टाचार भएको भन्दै नेपाललाई नै ‘फ्रड’को रुपमा परिभाषित गरेका थिए । 

पत्रकार सम्मेलनमै यस्तो बोलेका ट्रम्पले नेपाललाई दिँदै आएको रकम रोक्का गर्नुको कारण खुलाउँदै यी रकमहरुमा ठगी भएको प्रष्ट अभिव्यक्ति दिएका हुन् ।

अमेरिकाले नेपाललाई संघीयताको शीर्षकमा २ करोड डलर र जैविक विविधता संरक्षणका लागि १ करोड ९० लाख डलरसहित गरि कुल ३ करोड ९० लाख अर्थात् नेपाली झण्डै ५ अर्ब ४३ करोड रुपैयाँ दिँदै आएको थियो । तर अब राष्ट्रपति ट्रम्पले यस्लाई रोक्ने घोषणा गरिसकेका छन् ।

ट्रम्पको घोषणाले नेपाल तरंगित 

नेपालमा दिइँदै आएको सहायतामा भ्रष्टाचाचार भएको ट्रम्पले नै भनेपछि नेपालको राजनीति र दलका नेताहरुमाथि नैतिक प्रश्न मात्रै उठिरहेको छैन । नेपालको प्रतिष्ठामाथिसमेत प्रश्न उठेको छ । उक्त रकम कस्ले र किन ल्यायो ? कोबाट भ्रष्टाचार भयो ? त्यसको हिसाब किताब खोइ ? भन्ने प्रश्नसमेत उठ्न थालिसकेका छन् । 

विश्वशक्ति राष्ट्र अमेरिकाका प्रमुखले नै नेपाल र नेपाली राजनीतिमाथि यसप्रकारको टिप्पणी गरिनु सोचिनय विषय हो ।  

यसले अन्तर्राष्ट्रिय स्तरमै मुलुकको प्रतिष्ठा र नेपालीको स्तर कस्तो रहेछ ? भन्ने विषयलाई पनि उजागर गरिदिएको छ । यसप्रति नेपाली राजनीतिक दलहरुको चेत कहिले खुल्ने ? यो प्रश्नको रुपमै खडा भइरहेको  छ । 

नेपालबाट ट्रम्पलाई अर्ति !

काठमाडौं महानगरका मेयर बालेन शाहले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै नेपालीहरुलाई नेपाल अमेरिकाभन्दा राम्रो देश हो, भनेर महशुस गराएको भन्दै धन्यवाद दिएका छन् । सामाजिक संजालमै ट्रम्पलाई मेन्सन गरेर भनेका बालेनले नेपाल जनशक्ति पलायनका कारण गरिब भएको तर अमेरिकामा भने अल्छीहरु बस्नाले देश बनाउन नसक्ने टिप्पणी गरेका हुन् । डीभी प्रणालीलाई रोक्न आग्रह गरेका बालेनले ट्रम्पलाई विश्व स्वतन्त्र रुपमा छाडिनुपर्ने पनि धारणा राखेका छन् । 

ओलीमाथि पनि खनिए बालेन 

ट्रम्पको टिप्पणी पछि मेयर बालेन शाह प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि खनिएका छन् । उनले फेसबुकमै स्टाटस लेखेर अमेरिकाले नेपालालई भ्रष्ट भनेको, भारतले भिखारी र चीनले नेपालीलाई मान्छे नै नगनेको भन्दै प्रधानमन्त्री ओलीमाथि रोष प्रकट गरेका हुन् ।

       बालेनको यो स्टाटसले नेपालमा धेरैभन्दा धेरै भ्रष्टाचार भइरहेको र नेपालको स्थिति विकराल हुनुमा राजनीतिक नेतृत्व र नेताहरुकै दोष रहेको भनाइको रुपमा लिन सकिन्छ । यसमा प्रधानमन्त्री ओली पनि जिम्मेवार हुनुपर्ने भन्दै बालेनले दबाबका लागि उक्त पोष्ट सार्वजनिक गरेका रुपमा व्याख्या गर्न सकिन्छ ।  तर जेहोस् नेपाल अन्तर्राष्ट्रिय रुपमै भ्रष्टको रुपमा बदनाम भइरहेको छ । यसले समग्र नेपाल र नेपालीको स्वाभिमान र अभिमानमै गम्भीर चोट पुगेको भान हुनु दुखःदु विषय हो । यसप्रति नेताहरुको चेत कहिले खुल्ने ? भन्ने प्रश्न जनस्तरबाटै उठ्न आवश्यक देखिन्छ । 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update