News 24 Television
ओली दम्पतिको घर चर्चा – ‘आफ्नै बलबुताले बनायौँ , भ्रष्टाचार गरेनौँ’ 

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको संज्ञा दिइने गरिन्छ । राजनीतिक र जनस्तरबाट विविध भ्रष्टाचारको प्रकरणमा उनको नाम जोडिँदै आएका छन् । 

ओली प्रधानमन्त्री रहेकै बेला कोरोना कालमा स्वास्थ्य उपकरण खरिद प्रकरण, ओम्नी, वाइडबडीदेखि पछिल्लो समय गिरीबन्धु जग्गा प्रकरणसम्मका आरोप लाग्दै आएका छन् । तर ओलीले आफूमाथि लाग्दै आएको आरोप प्रकरणमा आफूले भ्रष्टाचार पनि नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै जनतालाई प्रष्ट्याउने गरेका छन् । 

अझ दुर दराजमा  जन्मिएको नाताले नै कुनै पेशामा समेत आबद्ध नभइ नितान्त राजनीतिमै मात्र रहेका प्रधानमन्त्री ओलीले यतिका सम्पत्ति कसरी आर्जन गरे ? भन्ने प्रश्न समेत आम रुपमा उठ्दै आएका छन् । 

ओलीको घर चर्चा !

 प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुमको आठराईमा जन्मिएपनि उनको परिवार पछि झापा बसाइ सर्योे । उनका बुबा अझै झापामै बस्दै आएका छन् । यद्यपि प्रधानमन्त्री केपी ओली दम्पत्ति भने भक्तपुरस्थित बालकोटको आफ्नै निवासमा बस्दै आएका छन् । यस्तो अवस्थामा ओलीले कसरी घर बनाए ? नितान्त जेल जीवन र राजनीतिबाहेक कुनै पेशा नगरेका ओलीको घर कसरी बन्यो ? भन्ने प्रश्नसमेत जनस्तरबाट उठ्ने गरेको छ । यद्यपि प्रधानमन्त्री ओली भने उक्त घर आफ्नो श्रीमतीको कर्म र मेहनतले बनेको दावी गर्छन् । 

उता आफ्नै पुस्तक ‘करुणा’कै लोकार्पण कार्यक्रममा बोलेकी ओली पत्नी राधिका शाक्यले पनि आफूहरुले आफ्नै इमान्दारीता र बलबुताले घर बनाएको चर्चा गरिन् । र, ओलीमाथि लाग्दै आएका विभिन्न आरोपहरुबारे उनले खण्डन गरेकी छन् । 

प्रधानमन्त्री ओलीको भ्रष्ट चरित्र र अतिरिक्त आर्जनको विषयमा प्रश्न उठ्ने गरेकोप्रति इगित गर्दै राधिकाले बालकोटको घर आफ्नै बलबुताले नै जोडेको विषयलाई पनि मुख्य प्राथमिकता दिएकी छन् । ओलीको निवासलाई अलिसान दरबारको रुपमा चर्चा गरिएको विषयमा चित्त नबुझाएकी राधिकाले आफ्नो जागिरको कमाइबाटै बालकोटमा घर बनेको उल्लेख गरेकी छन् । 

राधिकाका अनुसार २०६० सालमा बालकोटमा घर बनेको थियो । यसपछि ओली दम्पत्ति यही बस्दै आएका छन् । राधिकाले ओलीमाथि प्रश्न गर्ने सबैलाई घरको एक–एक खर्च देखाउन तयार रहेको भन्दै प्रष्टिकरणसमेत दिएकी छिन् । 

पुस्तकसँगै प्रष्टिकरण अवसर !

प्रधानमन्त्री ओली लामो समयदेखि सक्रिय राजनीतिमा रहेपनि पत्नी राधिका भने राजनीतिसँग खास रुपमा जोडिँदै आएकी छैनन् । यद्यपि आवश्यक अवस्थामा उनी विषयवस्तुमाथि धारणा राख्ने गरेकी छन् । यो अवस्थामा उनले आफ्नै पुस्तक लोकार्पण कार्यक्रममा ओलीमाथि लाग्ने गरेका आरोपबारे खण्डन गरेकी छन् । 

उनको आत्मकथा ‘करुणा’मा पनि उनको जीवन भोगाइ र संघर्षलाई उतारेकी छन् । यही कार्यक्रमलाई ओलीले पनि पत्नी राधिका र आफूमाथि लाग्दै आएका विभिन्न आक्षेपहरुमाथि प्रष्ट पार्ने अवसरका रुपमा सदुपयोग गरेका छन् । ओलीलाई लाग्दै आएका विविध भ्रष्टाचारको आरोप र भ्रष्ट मनस्थितिको आक्षेपबारे खण्डन गर्न यो पुस्तक पनि महत्वपूर्ण बन्नसक्छ । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update