News 24 Television
'पानी जहाज चलाउने कुरामा पहिला ठट्टा गरियो, अहिले आवश्यक देखिन थाल्यो'

काठमाडाैँ । नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको सांसदहरुले बताएका छन् । सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरुले पानी जहाज नेपालका लागि अत्यावश्यक भइसकेको बताए ।

उनीहरुले नेपालमा केही समयअघि पानी जहाज चलाउने भन्दा ठट्टा गर्ने गरेपनि अहिले नेपालमा पनि सानासाना पानी ज्हाज चलाउन मिल्नकुरा बुझ्दै गएको बताए । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेपालमा पानी जहाज चलाउने कुरा गर्दा पानी जहाजलाई ठट्टामा उडाउने गरे पनि अहिले आएर बुझ्दै गएको बताए  । उनले नेपालमा सानासाना पानी जहाज चलाएर जल यातायातको उपयोग गर्न सकिने दाबी गरे । सरकारले पानी जहाजसम्बन्धी विधेयक ल्याएकोमा धन्यवाद दिँदै प्रभावकारी रुपमा जल यातायातको सदुपयोग गर्न आग्रह समेत गरे ।

1740394619-QwgLl-1740395597.jpg
उनले भने, ‘अस्तिअस्तितिर नेपालमा पानी जहाज चलाउने कुरा गर्दा पानी जहाजलाई ठट्टामा उडाए । ठाउँठाउँ सानासाना जहाजहरु बनाएर उडाएका थिए । त्यसमा हामी पनि हाँसिन्थ्यो । अहिले त हामी हाँस्दैनौँ । किनभने एउटै स्वर बनाएर पानी जहाज चल्ने रहेछ भनेर अघि बढेका छौँ । यो विधेयक ल्याएकोमा धन्यवाद छ । अब यो विधेयकलाई ल्याइसकेपछि हाम्रा नदीहरुभित्र साना जहाजहरु कसरी चलाउन सकिन्छ, त्यसमा लागौँ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गोपालप्रसाद भट्टराईले पानी जहाज तथा जल यातायात भन्दा राम्रो हुने प्रश्ताव गरे । पानी जहाजसम्बन्धी विधेयक तत्काल अघि बढाउन जरुरी रहेको बताए । उनले तेल ढुवानीमा पाइप लाइन बिछ्याउने, अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको बताए । 

उनले भने, ‘हामीले पानी जहाज भन्दा पनि पानी जहाज तथा जल यातायात भन्दा राम्रो हुन्छ होला । यो विधेयक तत्काल नै अघि बढाउनुपर्ने आवश्यकता छ । तेल ढुवानीमा पाइप लाइन बिछ्याउने, अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेका छन् ।’

राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले पहिला पानी जहाज नेपालमा चलाउने भन्दा नकारात्मक बहस हुने गरे पनि अहिले सानासाना जहाजहरु चलाउन सकिने कुरा बुझ्दै गएको बताए । उनले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याउनु सकारात्मक रहेको बताए ।

उनले भने, ‘पहिला पानी जहाज चलाउने भन्दा नेगेटिभ बहसहरु हुन्थे । तर अहिले पानी जहाज सञ्चालन तथा व्यवस्थापन भनेर विधेयक आएको छ । विधेयक ठिक भनेर संसदमापनि पास गरिसकेका छौँ । नेपाल भूपरिवेष्ठित देश भएको हुनाले यो देशमा पानी जहाज छैन, तर पानी जहाज राख्ने अधिकार पाउँछ भन्नेकुरा धेरै पहिला थाहा थियो । पानी जहाज निर्माण र पानी जहाज सेवा सञ्चालन गर्न कानूनको आवश्यक भयो, वर्तमान सरकारले अनुभुति गरेर यो विधेयक आयो । यो विधेयक कानूनमा परिणत भइसकेपछि नेपालीले अन्तर्राष्ट्रिय जलमार्गको उपयोग गर्न पाउनेछ । पानी जहाज सेवा सुरक्षित बनाउन यो विधेयक आएको छ ।’

सुरेशकुमार आलेमगरले पनि नेपालमा पानी जहाज भन्दा अनौठो लागे पनि सानासाना पानी जहाज चलाउन सकिने कुरा बुझ्दै गएको बताए । उनले नेपालमा पानी जहाज अहिले आएर आवश्यक लागेको बताए । हवाई यातायात भन्दा सस्तो हुने भएकाले पनि यो महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘नेपालमा पानी जहाज, नेपालमा पानी जहाज, पानी जहाज नेपालमा ? अनौठो लागेकै हो । तर पनि फेरि बिरोधाभषपूर्ण अनौठो कुरा लागेकै हो । तर अहिले बुझ्दै जाँदा यो नेपालमा आवश्यक नै लाग्यो । यो महत्वपूर्ण हुन्छ भन्ने नै लाग्यो । जल यातायात हवाई यातायात भन्दा सस्तो हुन्छ । नेपालमा ठूलो पानी जहाज सञ्चालन हुन नसके पनि सानासाना सञ्चालन हुन सक्नेछन् । अहिले यो सरकारले जुन पहलकदमी गरिरहेको छ यो सह्रानीय छ ।’

डा. वेदुराम भुषालले तत्काल पानी जहाज सञ्चालन गरिहाल्ने भन्दा पनि कानूनी आधार तयार पार्नुपर्नेमा जोड दिए । उनले यसका लागि छुट्टै निकाय आवश्यक भए कानूनमा राख्न जरुरी हुने बताए । 

सांसदहरुले आन्तरिक जलमार्गबाट पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै बैठकमा सांसदहरुले पानी जहाज भन्दा जल यातायात नाम राखेर जान सुझाव दिएका छन् । तर हरेक भूपरिवष्ठित राष्ट्रहरुले अन्तर्राष्ट्रिय जलमार्गमा गरेका अभिसन्धीअनुसार अरु नाम राख्न नमिल्ने व्यवस्था छ । सरकारले जल यातायात विभाग नाम राख्न खोजेको भए पनि अन्तर्राष्ट्रिय कानूनअनुसार पानी जहाज कार्यालय नै भन्नुपर्ने बाध्यता छ ।

अन्तर्राष्ट्रिय स्तरमा कार्यालय दर्ता गर्नुपर्ने भएकाले पानी जहाज कार्यालय नै नाम राख्नुपर्ने प्रावधान रहेको सरकारले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update