काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जागरण अभियान सञ्चालन गरेको छ । झापाबाट शुरु गरेको जागरण अभियान कञ्चनपुरमा पुगेर समापन गरिनेछ । यो अभियानबाट माओवादीले जनतालाई राजनीतिक रुपमा जागृत गर्ने, संविधान र प्रणालीबारे जानकारी गराउने लक्ष्य राखेको छ ।
प्रतिनिधिसभाको तेश्रो र राष्ट्रियसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले तराई मधेस जागरण अभियान झापाबाट शुरु गरेको छ । झापामा माओवादी केन्द्रका शीर्ष नेताहरुले पुगेर सम्बोधन गरेका छन् । माओवादी नै परिवर्तनको संवाहक रहेको दाबी गरेका नेताहरुले जनतामा माओवादी फर्किएको, सरकारले काम गर्न नसकेको, भ्रष्टाचार बढेको लगायतका विषय राख्दै माओवादीको विकल्पमा अन्य पार्टी हुनै नसक्ने दाबी गरे । शासन प्रणालीमा देखिएको विषयलाई सुधार गर्नुपर्ने मत राखेका वर्षमान पुन भने पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति क्रोधित देखिन्छन् ।
यसरी नेताहरुले आफ्ना तर्क र दलील पेश गर्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले पनि सरकारमाथिका आक्रोशलाई सधैं झै दोहो¥याएका छन् । उनीहरुले जागरण अभियानले माओवादीको एजेण्डा र मत निर्माण हुने जिकिर गरिरहेका छन् ।
पछिल्लो समय कांग्रेस–एमाले आफ्नो साइज बढाउने काममा लागेको भन्दै प्रचण्डले माओवादी केन्द्रले आत्मसमीक्षासहित अघि बढ्नुपर्ने भन्न थालेका छन् ।
झापाको कचनकवल हुकाहुकीबाट सञ्चालन गरिएको तराइ मधेस जागरण अभियान चैत्र ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । माओवादीले आफूले जितेको स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने भनिरहेको छ ।
माओवादीको प्रयास
माओवादी केन्द्रले आगामि निर्वाचनमा एक्लै लड्ने भनिरहेको छ । पार्टी एकता, मोर्चादेखि अनेक प्रयासमा जुटेको माओवादी केन्द्रभित्र शक्ति र सत्ता मोहले भने विभिन्न प्रक्रिया अड्किएको देखिन्छ । माओवादीसँग एकताका लागि तयार भएका महिन्द्र राय यादव र विप्लवले ठाउँ पाउन सकेको देखिन्न । यस्तो स्थितिले पनि माओवादीभित्रको आन्तरिक विवाद र गुटका विषयमा विभिन्नचर्चा चल्न थालेका छन् ।
जनतामा लोकतन्त्रको हुंकार दिने तर पार्टीभित्रको आन्तरिक लोकतन्त्र मार्ने प्रयास गर्ने भन्दै सार्वजनिक प्रश्नको समेत सामनामा माओवादीले गरिरहेको छ। यस्तोमा माओवादीले अब के गर्ला भन्ने विषय थप चर्चामा छ । माओवादीमाथिका अनेक प्रश्नका बीच हाल जारी अभियानका क्रममा भने माओवादीले होटेलमा बास नबस्ने, जनताको घरमा खाना खाने, मर्निङ वाकमा हिडेर जनतालाई पनि आकर्षण गर्ने जस्ता कदमहरु चालिरहेको छ । यसले जनतासँग माओवादीको सम्बन्ध सुधार हुने अपेक्षा माओवादीले राखेको छ ।