काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् ।
केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा उनले स्वीकारे। आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको जिकिर समेत गरे ।
दुई ठूला दल मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउनकै लागि रहेको भन्दै उनले देशमा सुशासन र विकासको गति तीब्र बनाएकाे दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बीचको तीन वर्षले धान्न सकेन । फेरि हामी त्यही नधानिएको हुनाले अहिले नेपाली काँग्रेस र नेकपा एमाले दुई वटा सबैभन्दा ठूला पार्टीहरु मिलेर, देश धेरै अफ्ठ्यारोमा पर्यो यो बीचमा । देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएका छौँ । यो विकास र सुशासन भनेको के हो भन्दा शिक्षा, स्वास्थ्यमा विकास, पूर्वाधारमा विकास, बिजुलीमा विकास, सञ्चारमा विकास यि सबै कुरामा विकास हुनुपर्छ । विज्ञान प्रविधिले गरेका उपलब्धीहरु सबै नेपाली जनताले पाउने ल्याकतमा हुनुपर्छ । २० प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि छन् ।’
प्रधानमन्त्री ओलीले नेपाली बालबालिकाहरु मुस्कुराएको हेर्न चाहेको समेत बताए ।
