
काठमाडौं । प्रजातन्त्र दिवसका दिन भिडियो सन्देश जारी गर्दै आफूलाई साथ दिन आह्वान गरेका पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा छन् । उनको अभिब्यक्तिले सदनसमेत तातेको छ । पछिल्लो समय उनी विभिन्न मठमन्दिर धाइरहेका छन् । भारतबाट नेपाल फर्किएपछि भैरहवा हुँदै पोखरा पुगेका शाह अझै केही समय पोखरामा बस्ने र १६ गते जनतासंगै पैदलयात्रा गर्ने कार्यक्रम तय गरेका छन् । शाहको सक्रियताले राजावादीहरु पनि हौसिएका छन् ।
पछिल्लो समय एक्कासी सक्रियता बढाएका पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा छन् । भारतवाट फर्किएपछि झापाबाट भैरहवा हुँदै पोखरा पुगेका उनी झण्डै दुई सातादेखि पोखरामा बसेका छन् । यहि भ्रमणकै क्रममा उनी मंगलवार स्याङ्जा पुगे । स्याङजाको कालीगण्डकी गाउँपालिकाको प्रसिद्ध आलमदेवी मन्दिरको दर्शन गरी उनी मंगलबार नै पोखरा नै फर्किए ।
शाहले पोखरामा १६ गते नागरीक संगै पैदल यात्रा गर्ने कार्यक्रम तय गरेका छन् । त्यसपछि उनी पोखराबाट पर्वत–वाग्लुङ्ग र म्याग्दी पनि पुग्ने कार्यक्रमको तयारी भइरहेको उनको सचिवालयले जनाएको छ ।फागुन ७ गते शाहले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए । त्यसक्रममा उनले नेपालको उन्नतिको लागि अरु के–के त्याग गर्नुपर्ने हो त्याग गर्न तयार रहेको समेत बताएका थिए ।
सम्बोधनमा ज्ञानेन्द्रले देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको भन्दै उक्त त्यागलाई कमजोरीको रुपमा नलिन चेतावनी समेत दिएका थिए । उनको यस्तो भिडियो सन्देशपछि राजावादीहरु पनि निकै हौसिएका छन् । तर शाहको अभिब्यक्तिले गणतन्त्रवादीहरुलाई भने झस्काइदिएको छ ।
उनको अभिब्यक्तिपछि संसद र संसद भन्दा बाहिर राजावादी र गणतन्त्रवादी विच नोकझोक नै चलिरहेको छ । मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा पनि सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले पूर्वराजालाई राजनीतिक दल खोलेर राजनीतिमा आउन चुनौति दिएका छन् ।
किन जिल्ला डौडाहामा छन् ज्ञानेन्द्र शाह ?
राष्ट्र बचाउनका लागि आफुलाई साथ दिन सार्वजनिक अपिल गरेका पूर्व राजा ज्ञानेन्द्र शाहशक्ति निर्माणको तयारीमा जुटेका छन् । लामोसमय झापामा बसेका ज्ञानेन्द्रलाई झापाकै दुर्गा प्रसाईंले राजावादी आन्दोलनमा साथ दिई रहेका छन् ।यता राष्ट्रिय प्रजातन्त्र पार्टी पनि शुरुदेखि नै राजसंस्थाको माग राखिरहेको छ ।
कर्णाली प्रदेशमा राप्रपा सांसद ज्ञानेन्द्र शाही, कोशीमा राप्रपा अध्यक्ष राजेन्द्र लिंङदेन र मेडिकल ब्यवसायी दुर्गा प्रसाईं, सुदूरपश्चिम प्रदेशमा एमाले छाडेका भिम रावललाई साथ लिएर जनतामाझ शक्ति निर्माण गर्ने प्रयास पूर्व राजाको छ । गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा अहिले पनि राजसंस्था माग गर्ने जनमत बलियो छ भने लमजुङतर्फ पनि त्यसको केही प्रभाव पर्ने देखिन्छ । गण्डकीबाट राजसंस्थाको मागका लागि नेतृत्व गर्ने कोही नभएको अवस्थामा ज्ञानेन्द्रले पोखरामा बसेर नेतृत्वकर्ता खोजीरहेका छन् ।
त्यसका लागि उनी स्याङ्जा पुगेर फर्कीसकेका छन् भने बाँकी रहेका जिल्लाहरुतर्फ जाने योजना बनाई रहेका छन् । बागमती प्रदेशको मकावानपुरमा राप्रपाका दिपक सिंह र चितवनमा विक्रम पाण्डे निर्वाचिन भई प्रतिनिधिसभाकै सांसद छन् । नेवार बाहुल्य रहेको काठमाडौं उपत्यकामा धर्म संस्कृतीको रक्षाका लागि साथ पाइने ज्ञानेन्द्रको बुझाई छ ।
पटक पटक भारत गएका ज्ञानेन्द्रलाई भारतले साथ दिएमा मधेश प्रदेशमा पनि शक्ति निर्माण हुन सक्ने र राजसंस्था गर्न बल पुग्ने उनको बुझाई छ । जसले गर्दा उनको सक्रियता पछिल्लो समय बढ्दै गएको हो ।
ठूला दलभित्रै राजतन्त्र पक्षधर बढ्दै
प्रमुख ठुला तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले राजाको सक्रियताको विरोध गरिरहेका छन् । तर पनि कांग्रेस, एमालेभित्रै केही नेताहरु राजतन्त्रको वकालत गरिरहेका छन् । तर उनीहरु पार्टीभित्र कमजोर अवस्थामा छन् । प्रमुख तिन ठुला दलले सहयोग नगरेको अवस्थामा राजतन्त्र फर्कीन सक्ने कुनै सम्भावना देखिदैन ।
त्यसैले गर्दा पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रले आवश्यकता अनुसार दिल्ली सम्झौता बाहिर निकाल्ने बताईरहेका छन् । दिल्ली सम्झौता निकाल्न भन्दा अगाडि उनले प्रमुख दलहरु बिच रुष्ट रहेका जनतालाई आफ्नो पक्षमा उतार्ने र त्यसपछि सम्झौताको कुरा निकालेर उनीहरु माथि दबाब बढाउने योजना बनाएको देखिन्छ ।
भूराजनीति सक्रियता बढाउनकै लागि यसअघि उनले भुटान भ्रमण गरेका थिए । शाहले दुई छिमेकी मुलुक भारत र चीनको साथ कसरी लिन्छन्, त्यो उनको कुटनीतिक चातुर्यतामा भर पर्नेछ ।