News 24 Television
केआइआइटीमा फर्किन नचाहने विद्यार्थीलाई नेपालमै अवसर 

काठमाडौं । भारतको उडिसास्थित कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न परिस्थितिका कारण नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् । 

केआईआईटी प्रशासनले फर्किन आह्वान गरे पनि उनीहरु फर्किन नचाहेपछि उनीहरुलाई नेपालमै पढ्ने ब्यवस्था मिलाउनुपर्ने आवाज उठिरहेकाबेला त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले ती विद्यार्थीहरुका लागि आवेदन मागेका छन् । 

प्रकृति लम्सालको मृत्यु प्रकरणपछि कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीहरुको पढाइ अन्यौलग्रस्त भइरहँदा त्रिभुवन विश्वविद्यालयसहित नेपालका ३ वटा विश्वविद्यालयले आवेदन मागेका छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले सूचना प्रकाशित गर्दै ती विद्यार्थीहरुलाई नेपालमै क्रेडिट आवर ट्रान्सफरका लागि आवेदन दिन आह्वान गरेका हुन् । 

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको क्रेडिट ट्रान्सफर गरी उनीहरुले अध्ययन गरिरहेकै तहमा अध्ययनका लागि अवसर दिन तयार रहेको नेपाली विश्वविद्यालयका अधिकारीहरुले बताएका थिए । विश्वविद्यालयहरुले क्रेडिट ट्रान्सफर दिन तयार देखिएपछि त्यसबारेमा सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमै प्रश्न उठाएका थिए । 

लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिका कारण सैयौं नेपाली विद्यार्थीहरु केआईआईटीबाट निकालिएका थिए । चौतर्फी दबाब र आलोचनापछि आइआईटी प्रशासनले निस्काशित विद्यार्थी अवस्था सामान्य रहेको भन्दै सोही शिक्षण संस्थामा फर्किन आह्वान गरेका थिए । तर प्रशासनले विद्यार्थीमाथि गरेको दुब्र्यवहारका कारण उनीहरु फर्किन चाहिरहेका छैनन् । 

विद्यार्थीहरु फर्किन नचाहेपछि उनीहरुलाई नेपालमै पढ्ने वातावरण बनाउनुपर्ने आवाज उठिरहँदा नेपालका ३ वटा विश्वविद्यालयले क्रेडिट आवर ट्रान्सफर लिन चाहनेका लागि आवेदन आह्वान गरेका हुन् । तीन वटै विश्वविद्यालयले सूचना जारी गरी सम्बन्धित विद्यार्थी र अभिभावकहरुलाई थप जानकारीका लागि सम्पर्क आग्रह गरेको छ । 

तत्कालै केआईआईटीमा फर्किन नसक्ने वा नचाहने विद्यार्थीका लागि सोही विषयको बाँकी पढाई नेपालमै पूरा गर्ने सकिने गरी ब्यवस्था गरिएको हो । 

केआईआईटीबाट प्रभावित विद्यार्थीहरुको भविष्य अनिश्चित बनिरहँदा शिक्षा मन्त्रालयले नेपाली विश्वविद्यालयका अधिकारीहरुलाई क्रेडिट आवर ट्रान्सफरको सुविधा दिन आग्रह गरेको थियो । केआईआईटी विश्वविद्यालयबाट प्रभावित विद्यार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपालमै क्रेडिट ट्रान्सफर नीति अनुसार त्रिवि र पूर्वाञ्चलमा शैक्षिक कार्यक्रमहरू सुचारु गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ । 

केआईआईटीमा अध्ययनरत रुपन्देहीकी विद्यार्थी प्रकृति लम्साल फेब्रुअरी १६ मा होस्टेलको कोठामा मृत फेला परेकी थिइन् । लम्सालको शंकास्पद मृत्युपछि आन्दोलनरत नेपाली विद्यार्थीमाथि केआईआईटीले दमन गरी शिक्षण संस्था छाड्न बाध्य बनाएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update