News 24 Television
राष्ट्रियसभालाई पुनः वृद्धाश्रमको संज्ञा, व्याक भएनन् ज्ञानेन्द्र शाही !

काठमाडौं । नेपालको संघीय संसदलाई दुई सदनात्मक व्यवस्थाको रुपमा परिकल्पना गरिएको छ । जसमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहेका छन् । यी दुई सदनलाई समानन्तर सदनको रुपमा पनि लिने गरिन्छ  । 

राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनको प्रकृया केही फरक भएपनि कानून निर्माण गर्न भने दुवै सदनको उत्तिकै भूमिका रहन्छ । तर पछिल्लो समय राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने राष्ट्रियसभामाथि विविध टिप्पणी गर्दै होच्याउने गरेको विषयले राजनीति र सदन तातेको छ । शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभा र प्रतिनिधिसभामै आवाज उठिरहेका छन् । 

सुरुमा के भनेका थिए शाहीले ?

जुम्लाबाट निर्वाचित राप्रपा सांसद ज्ञानेन्द्र शाहीले मिडिया काउन्सिल विद्येयकको विषयमा बाझिने विषयलाई  राम्रोसँग अध्ययन नै नगरी राष्ट्रियसभाले पारित गरेको भन्दै प्रश्न उठाउँदै आएका छन् । यो सँगै उनले राष्ट्रियसभालाई चुनाव हारुवालाई भर्ती गर्ने केन्द्र बनाइएको भन्दै ‘वृद्धाश्रम’का भनेका छन् । 

उनले दोहोर्याएरै सामाजिक संजालमा भनेका छन् – ‘वृद्धा आश्रमलाई के बालआश्रम भन्नु त ? चुनाव हारेका हरुवा चरुवालाई भर्ती गर्ने केन्द्र राष्ट्रियसभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र ‘वृद्धाश्रम’लाई बालआश्रम भनिदिनुपर्ने हो ?’

त्यसअघि शाहीले राष्ट्रियसभाको औचित्य नभएको भन्दै त्यसको अन्त्य गरिनुपर्ने भनेर फेसबुक स्टाटस पनि लेखेका थिए । उक्त समय पनि उनले राष्ट्रियसभालाई वृद्धा आश्रम जान लागेका बाजेहरु थन्काउने र पार्टीका कार्यकर्ताहरुलाई मनाउने थलो बनाइएको भनेका थिए । त्यस्तै राष्ट्रिय सभामा भत्ता खान गएकाहरुले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेको आरोप पनि लगाएका थिए । 

शाहीविरुद्ध राष्ट्रियसभामा खेट प्रकट 

सांसद शाहीको अभिव्यक्ति र स्टाटसप्रति राष्ट्रियसभा सदस्यहरुले प्रश्न उठाउँदै उनिविरुद्ध खेद प्रकट गरे । गत फागुन ४ गते बसेको राष्ट्रियसभा बैठकमा उक्त भनाइप्रति आपत्ति जनाउँदै धेरैजसो सदस्यहरुले शाहीको अभिव्यक्तिको विरोध गरेका थिए । 

शाहीविरुद्ध राष्ट्रियसभामै खेद प्रस्ताव पारित समेत भएको थियो । सभाले शाहीलाई आउँदो दिनमा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निर्देशन दिएको थियो । यद्यपि शाहीले भने उक्त निर्देशनलाई अझै अटेर गरिरहेका छन् । 

प्रतिनिधिसभामै दोहोर्याए ‘वृद्धाआश्रम’ !

मंगलबार पनि प्रतिनिधिसभा बैठकमा आमसंचार परिषद विद्येयकमाथि छलफलको कार्यक्रम थियो । उक्त बैठकमा पनि आफ्नो धारणा राख्नेक्रममा सांसद शाहीले राष्ट्रियसभामाथि होच्याउने अभिव्यक्ति दिँदै प्रस्तुत भए । 

यसपपछि ज्ञानेन्द्र शाहीको अभिव्यक्तिलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले नियमापत्ति जनाउने प्रयास गरेका थिए । यद्यपि शाहीले फेरि प्रतिप्रश्नकै रुपमा आफूविरुद्ध राष्ट्रियसभामा खेद प्रकट हुँदा तपाईँहरुको ध्यानाकर्षर्ण कहाँ थियो ? भन्दै प्रतिप्रश्न गरे । यद्यपि सांसदहरुबीच दोहोरो बहस नभएपनि सांसद शाहीले विद्येयककै सम्बन्धमा बोल्दै राष्ट्रियसभामाथि होच्याउने भाषा भने दोहोर्याएका छन् । संघीय संसद दुई सदनात्मक रहने व्यवस्था रहेको छ । यी एकअर्कामा समानन्तर रहेकाले एक अर्काप्रति होच्याउने गरि आएको शाहीको यो अभिव्यक्तिलाई शोभनिय भन्न सकिन्न । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update