काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड आगामी निर्वाचनमा एक्ला–एक्लै लड्ने र बहुमत प्राप्त गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । उनले पछिल्लो समय सरकारमाथि दवाब बढाउँदै यसखालका अभिव्यक्ति दिइरहँदा के माओवादीले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ला ? उसले दावी गरेजस्तै एकल बहुमत ल्याउँला त ? भन्ने प्रश्न उठिरहेका छन् । यद्यपि माओवादीले भने अब आफूहरु सुधारिएर जाने र आउँदो निर्वाचनमा बहुमत ल्याउने दावीसहित विगतमा पनि आफ्नै बलबुताले पहिलो दल बनेकोे र तीन – तीन पटक प्रधानमन्त्री बनेको जिकिर गरिरहेको छ । र, आउँदो निर्वाचनमा एकल बहुमत ल्याउने दावी गरिरहेको छ ।
यतिबेला माओवादीले तराई–मधेश जागरण अभियान संचालन गरिरहेको छ । यो अभियान पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म झण्डै एक महिना चल्दैछ ।
यसको प्रमुख उदेश्य जनता–पार्टीबीचको सम्बन्ध सुधार गर्ने र सरकारका गलत कामको भण्डाफोर गर्ने माओवादीको भनाइ छ । तर यसमा माओवादीले आगामी निर्वाचनको लागि जनाधार तय गर्ने तथा पार्टी एकाबद्ध रहेको भन्ने देखाउन पनि यो अभियानलाई प्रयोग गरिरहेको देखिन्छ ।
माओवादीमा विविध गुट रहेका छन् । जसलाई भर्खरै सम्पन्न माओवादी निकट विद्यार्थी संगठनको निर्वाचनले पनि उजागर गरिदिएको छ । तर अध्यक्ष प्रचण्डले यही विविध गुटलाई एकाबद्ध रहेको भन्ने देखाउनकै लागि झापामा माओवादीका शीर्ष नेताहरुलाई एकै ठाउँमा उभ्याए । र, पार्टीमा शक्तिशाली गुट भनिएको जनर्दन शर्मा र अर्का नेता वर्षमान पुनलाई त प्रचण्डले अँगालो नै मारेर तस्बीर खिचाएका थिए ।
नारायणकाजीको सनक !
अध्यक्ष प्रचण्डले पार्टी एक ढिक्का रहेको र आउँदो दिनमा एकत्रित भएर जाने सन्देश दिइरहँदा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने झापाको उद्घाटन कार्यक्रममै बम्किए ।
आफू बोल्दै गर्दा कार्यक्रम संचालकले मनोवैज्ञानिक दवाव दिएको भन्दै स्टेज नै बहिस्कार गरेका नेता श्रेष्ठ त्यसयताका कार्यक्रममा देखिएनन् । यद्यपि उनले चितवनको एक कार्यक्रममा पुगेर आत्मआलोचना भने गरे ।
झापामा नारायणकाजी बोलेपछि मञ्चमा आएका अध्यक्ष प्रचण्डले नेताहरुको अस्वभाविक चरित्र देखिएपनि त्यसलाई सामान्य रुपमा लिन भन्दै स्थथिति थामथुम बनाउनु परेको थियोे ।
सुदुरपश्चिम विवादले प्रचण्डलाई अर्को हैरानी
माओवादीको शिर्ष नेताहरु अभियानका दौरानमा छन् । यी अभियानमा माओवादीले विभिन्न दलका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा भित्र्याइरहेको छ । तर सुदुरपश्चिमको संसदीय दलको नेताको विवादले भने प्रचण्डलाई अर्को हैरानी थपेको छ । प्रचण्ड बुधबार विराटनगरको कार्यक्रममा थिए । तर उनी बुधबार नै केही घण्टाका लागि कार्यक्रम छाडेर काठमाडौं आउनु परेको थियो ।
सुदुरपश्चिममा गतवर्ष बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । यसपछि प्रचण्डले पटक पटक लिखित तथा मौखिक रुपमै खगराजलाई नै संसदीय दलको नेता बनाउने निर्देशन दिँदै आएका छन् । यद्यपि उक्त निर्देशन कार्यान्वयन भइरहेको छैन ।
बुधबार प्रचण्डले प्रदेशसभाका सबै सदस्यहरुलाई काठमाडौं बोलाएर खगराजलाई नै दलको नेता बनाउन निर्देशन दिएका हुन् । यद्यपि यो समस्या हल भइहाल्ने संभावना न्यून नै छ ।
माओवादीले सबै पक्ष र गुटलाई एकाकार बनाएर भावि निर्वाचनमा बहुमत ल्याउने दावी गरिरहेको छ । यही क्रममा प्रचण्डले ०६४ को झल्को देखिरहेको भनिरहेका छन् । र, काँग्रेस एमालेलाई विगतमा आफ्नै सहयोगले फाइदा पुगेको तर माओवादीलाई भने सँधै घाटा भइरहेको जिकिर पनि गरिरहेका छन् ।
यहीबाट पाठ सिकेको भन्दै माओवादीले आउँदो निर्वाचनको तयारी गरिरहेको हो । यद्यपि माओवादी भित्रै पनि विभिन्न गुट समस्याका रुपमा रहेकाले प्रचण्डको योजना सफल हुनेमा भने शंकाकै रुपमा हेरिएको छ ।
