News 24 Television
ओलीलाई बालेनको अर्को चेतावनी, एमाले प्रतिवादमा आउँदा मिसिए हर्क पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्थानीय तहका स्वतन्त्र निर्वाचित प्रमुखहरुबीच हुने टकरावको विषय गहन रुपमा उठ्दै आएको छ । खासगरी काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मयेर हर्क साम्पाङले प्रधानमन्त्री ओलीको चरित्रमाथि सँधैजसो टिप्पणी गर्दै आएका छन् । प्रधानमन्त्री ओली र मेयर बालेनबीच त लामो समयदेखि नै दोहारी चल्दै आएको छ ।

धरहराको अण्डरग्राउण्ड पार्किङ तथा न्यूरोडको फुटपाथ व्यवस्थापन, गिरीबन्धु जग्गा प्रकरणमा बालेनले गरेको टिप्प्णी, रिङरोड निर्माण कार्यमा भएको ढिलाइ तथा महानगरका हरेकजसो विकास निर्माण र भौतिक पूर्वाधार व्यवस्थापन कार्यमा प्रधानमन्त्री ओलीसँग बालेनको टसल पर्दै आएको छ । यस्तो अवस्थामा ओलीले बालेनमाथि नै पौठाजोरी गर्न अस्वभावि र असोधनीय भएको भन्दै आम टिप्पणी भइरहेका छन् ।

बालेनको तारान्तार स्टेटस 

हाल सरकार एमाले नेतृत्वमै सरकार चलिरहेको छ । तर बालेन वर्तमान सरकारसँग तालमेल नै नमिलेको संकेत गराइरहन्छन् । केही दिन अघि मात्रै डोनाल्ड ट्रम्पको टिप्पणीलाई लिएर बालेनले नेपाललाई अमेरिकाले समेत भ्रष्ट भनेको र छिमेकी मुलुकहरु भारत र चीनले समेत गन्नै नगन्ने स्थिति आएको भन्दै ओलीलाई सम्बोधन गरेर नेपालीहरुको स्वाभिमान बचाउनुपर्ने आशायको स्टाटस लेखे । यसपछि पनि बालेनले आलीमाथि लगातार सामाजिक संजालबाटै आक्रोश पोखिरहेका छन् । शुक्रबार मात्रै पनि बालेनले ओलीलाई नै सम्बोधन गर्दै यस्तो भनेका छन् ।

प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ । 
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मान्छे ।
मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला । 

बालेनले किन ओलीलाई यस्तो भने ? 

काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको ढेड महिना बढी भइसक्यो । यद्यपि महानगरमा केन्द्र सरकारले कर्मचारी प्रमुख पठाउन सकेको छैन । जसका कारण महानगरमार्फत हुने सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव परिरहेको छ । कर्मचारीको सेवासुविधा तथा विकासकै क्षेत्रमा हुनुपर्ने रकम भुक्तिानीसमेत हुन सकेका छैनन् ।

यसैका कारण प्रमुख प्रशासकीय अधिकृत नपठाएकोप्रति आक्रोश पोख्दै बालेनले उक्त स्टाटस लेखेका हुन् । सरकारले केही दिन अघि मात्रै मन्त्रिपरिषदको बैठकमार्फत विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकी अधिकृत पठाएपनि काठमाडौं महानगरमा भने कसैले जान इन्छा नगरेको भन्दै कर्मचारी प्रमुख पठाइएको छैन । 

बालेनलाई शंकरको जवाफ

स्टेटसपछि एमाले महासचिव शंकर पोखरेलले फेसबुकबाटै बालेनलाई जवाफ पर्काए । शंकरले दिएको जवाफमा मेयर बालेनले सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै आक्रोश पोखेको तर कर्मचारीहरु किन आउन मानिरहेका छैनन् ? भन्ने विषयमा उनको ध्यान नगएको आरोप लगाएका छन् । यद्यपि उनले सरकारले चाँडै प्रमुख प्रशासकीय अधिकृत पठाउने दावी गरेको देखिन्छ । 

बालेन–हर्क एकस्वर !

धरान उपमहानगरका मेयर हर्क साम्पाङले पनि बालेनको पक्ष लिँदै प्रधानमन्त्री ओलीको भूमिकामाथि प्रश्न गरेका छन् । साम्पाङले फेसबुकमा भनेका छन् ।

प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनु पर्छ । मेयरहरुसङ्ग जुधेर हुँदैन । सक्छ भने नरेन्द्र मोदी र सी चिनफिङसँग जुध्नु बरु । 

मेयर हर्क साम्पाङ पनि स्थानीय तह प्रमुखको गुनासो सुनुवाई नै नगरेको भन्दै प्रधानमन्त्री ओलीसँग आक्रोश पोखिरहेकै पात्र हुन् । गत माघको पहिलो साता खानेपानीको समस्या हल गर्न सहयोगको याचना गर्दै काठमाडौं आएका हर्कलाई ओलीले समय नै नदिएपछि उनी निरास भएरै धरान फर्किएका थिए । 

प्रधानमन्त्री ओलीसँग स्वतन्त्र निर्वाचित जनप्रतिनिधिहरुले विकासका कार्यदेखि सेवा प्रवाहमासमेत अनुकुल वातावरण र समन्वयको अभाव महसुस भइरहेको गुनासो गर्ने गरेका छन् । यसैकारण ओलीमाथि बालेन र हर्कजस्ता स्वतन्त्र जनप्रतिनिधिले सँधै प्रश्न उठाउने गरेको देखिन्छ । यस्तोमा प्रधानमन्त्रीले नै स्थानीय तहका प्रमुखमाथि समन्वयको साटो सीधै पौठाजोरी खेल्ने गरेको भन्दै ओलीमाथि आलोचनासमेत बढीरहेका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update