News 24 Television
देउवा रिझाउँदै ११ भाइ, कसको होला हाइ हाई ? 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल सकिन अब १० महिना मात्रै बाँकी छन । त्यसैले ८२ सालभित्रै १५ औं महाधिशन हुनुपर्नेमा संस्थापन इतर पक्षका नेताहरुले जोड दिँदै आएका छन् । ८२ सालमै महाधिवेशन नभए पनि ८४ को आम निर्वाचन अघि नै महाधिवेशन हुने निश्चित नै छ । त्यसैले कांग्रेस नेताहरुल्े पार्टीको नयाँ नयाँको खोजी गर्न थालेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको २ कार्यकाल सभापति पद सम्हालेका हुन् । उनी २०७२ सालमा १३ औं महाधिवेशन र ७८ साल मंसिरमा भएको १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्वको सम्हालेका हुन् । 

त्यसैले दुई कार्यकाल सभापति सम्हालेको देउवाले विधानतः अब १५ औं महाधिवेशनबाट पार्टी नेतृत्वका लागि लड्न पाउने छैनन् । पार्टी विधान अनुसार नै देउवा सभापतिमा लड्न नपाउने भएपछि नयाँ नेतृत्व हत्याउने नेताहरुको दौडधुप शुरु भइसकेको छ । 

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापा पार्टी सभापतिको चर्चामा छन् । तर उनीहरुले १५ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार घोषणा भने गरिसकेका छैनन् ।

शेखर र गगन बाहेक उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय कार्य समिति सदस्यहरु विमलेन्द्र निधि, डा. सशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह श्रेष्ठ र गोपालमान श्रेष्ठ पनि सभापतिमा आकांक्षी हुन् । तर संस्थापन पक्षबाट कसलाई अघि बढाउने भन्नेमा देउवा निश्कर्षमा पुगिसकेका छैनन् । सातौं पटक प्रधानमन्त्रीको लाइनमा रहेका देउवाले आफ्नो लिगेसी पत्नी आरजुतर्फ धकेल्ने आकांक्षा पनि राखेका छन् । तर आफ्नो पक्षका नेताहरुले आरजुर्लाइ सहज नेतृत्व स्वीकार्ने अवस्था भने देखिदैन ।  

उता, जननेता वीपी कोइरालाको पुत्र भएकै कारण डा. सशांक कोइराला पनि नेतृत्वको तीब्र आकांक्षामा छन् । १३ औं महाधिवेशनबाट तेस्रो धारका रुपमा स्थापित कृष्णप्रसाद सिटौला भने १४ औं महाधिवेशनमा देउवालाई सघाउन पुगे । अहिले पनि उनी देउव समूहमै रहेकाले शशांकसहित सिटौला पनि देउवालाई रिझाउन ब्यस्त छन् । शशांकले बीपीको विचारबारेको एउटा कार्यक्रममा ठट्यौली पारामा आफू अब सभापतिमै लड्नुपर्ला जस्तो लागेको बताएका थिए । 

डा. शशांकले आफूलाई वीपीको लिगेसी ठानेजस्तै प्रकाशमान सिंह पनि लौहपुरुष गणेशमान सिंहको छोरा भएकै कारण राजनीतिक ब्याज खाइ रहेका छन् । त्यसैले उनले आफूलाई त्यही लिगेसी ठान्छन् । 

आफू ग्रासरुटबाट आएको, जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापति तथा संसदीय दलको उपनेता पनि भएको भन्दै उनले अब संसदीय दलको नेता, प्रधानमन्त्री र सभापति बन्ने आकांक्षा जाहेर गरेका छन् । 

शान्ति प्रक्रियाका बेला महत्वपूर्ण भूमिका खेलेका कांग्रेसका शालिन नेता कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा तेस्रो धारका रुपमा उदाएका थिए । 

१४ औं महाधिशनमा देउवालाई सघाउँदै उनले आफ्नो धार विलय गराए । १४ औं महाधिवेशनमा देउवाको साथ लिएर सिटौलाले आफूनिकट युवा नेता प्रदीप पौडेललाई पार्टी महामन्त्रीमा खडा गरेका थिए । तर पौडेल महामन्त्रीमा पराजित भए । सिटौला अहिले देउवा निकट नै छन् । आफूले लगाएको गुन देउवाले तिर्छन् भन्नेमा सिटौला विश्वस्त छन् । 

अघिल्लो महाधिवेशनको पृष्ठभूमि  

कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापतिका लागि आधा दर्जन नेताहरु मैदानमा उत्रिएका थिए । चौधौं महाधिवेशनमा ६ नेताले पार्टी सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए । 

वर्तमान सभापति देउवासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका थिए । 

धेरै उम्मेदवार भएकै कारण पहिलो पटक ५० प्रतिशत मत कसैले पनि कटाउन सकेनन् । ५० प्रतिशत मत कटाउन नसेपछि सभापतिका लागि पुनः दोस्रो पटक मतदान भएको थियो । उक्त महाधिवेशनमा प्रकाशमान पनि सभापतिका उम्मेदवार थिए । सिंहले ३७१ मत प्राप्त गरे । 

देउवाले सिंहको साथ खोजे । ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार सभापति पदमा निर्वाचित हुने व्यवस्था भएकाले दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सहयोग गरेका थिए । 

देउवाको लिगेसीका लागि ११ भाइको हानाथाप 

कांग्रेसको १५ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि संस्थापन पक्षका नेताहरु शेखर र गगनको चर्चा पनि संस्थापन पक्षबाट पनि सभापतिको उम्मेदवार अघि सार्नुपर्ने दबाब देउवा पक्षका नेताहरुले दिएका छन् । 

देउवा पक्षका ११ जना नेताहरुले गत फागुन २ गते मात्रै बुढानिलकण्ठ पुगेर १५ औं महाधिवेशनका लागि आफूहरुको समूहको नेता तोकिदिन आग्रह नै गरेका थिए । त्यतिबेला देउवालाई भेट्न उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँद र उमाकान्त चौधरी सभापतिको निवास बूढानीलकण्ठ पुगेका थिए । तर देउवाले समूहको नेता घोषणा गरेनन् । 

देउवा भने आफ्नो लिगेसीका रुपमा कसलाई अघि सार्ने सार्वजनिक गरेका छैनन् । उनी पत्नी आरजुलाई पार्टीको जिम्मेवार पदमा लैजान चाहन्छन् । त्यसका लागि सिटौला पनि प्रमुख पात्र हुन् । सिटौला देउवापत्नी आरजुको पनि प्रिय पात्र मानिन्छन् । 

सिटौलालाई अघि सार्दा आरजुलाई विशेष ठाउँमा पुर्याउन सहज हुने आंकलन गरिएको छ । त्यसैले देउवालाई कसले रिझाउन सक्छ, उसैको पल्लाभारी हुने निश्चित छ । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update