News 24 Television
घाइते हात्तीको उद्दारमा छैन कसैको ध्यान, स्थानीयले मागे गुहार  

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका आसपासका क्षेत्रमा विगत लामो समयदेखि घाइते अवस्थामा भौतारीरहेको एक हात्ती उपचार तथा उद्धार नहुँदा ज्यान गुमाउने अवस्थामा पुगेको छ । घाइते अवस्थामा भौतारिरहेको एमगज नाम गरेको हात्तीको उद्दार र उपचार गर्न स्थानीयले सरोकारवाला निकाय गुहारेका छन् ।  

रौतहटको चन्द्रपुर नगरपालिका २ र ३ का जङ्गल तथा बस्तीहरूमा गत भदौ महिनादेखि नै चार पाँचवटा हात्तीहरू समूहमा देखा परेका थिए । 

हात्तीका समूहमा रहेका मध्ये एक हात्ती भने विगत दुई तीन महिनादेखि घाइते अवस्थामा सोही क्षेत्र आसपासमा भौतारीरहेको छ । प्रत्यक्षदर्शीका अनुसार हात्तीको चारवटै खुट्टामा चोट लागेको र आलो रगत बगिरहेको छ । खुट्टामा चोट लागेका कारण हात्ती राम्रोसँग हिँड्न र बस्न पनि सक्दैन । घाइते भएकै कारण  हात्ती समूहबाट छुटेर एक्लै परेको छ । 

घाइते अवस्थामा रहेको हात्ती खुट्टा खोल्च्याउँदै मानव बस्ती तथा जङ्गल आसपासका क्षेत्रमा भौतारीरहँदा सरोकारवाला निकायले गम्भीर रुपमा नलिएको स्थानीयको गुनासो छ । हात्तीको अवस्था हेर्दा निकै थकित र गलेको देखिन्छ । स्थानीयले आफ्नो आसपासमा आएको हात्तीलाई खानेकुरा दिने गरेका छन् । हात्तीलाई शिकारीहरूको समूहले गोली हानेर घाइते बनाएको हो कि भन्ने स्थानीयको आशंका छ । 

गत फागुण १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञ तथा चिकित्सकहरूको टोली आएर हात्तीलाई बेहोस बनाएर उपचार गरेर फर्किएको थियो । उनीहरूले हात्ती उपचार पश्चात् निको हुने र आफै आफ्नो बसोबास क्षेत्रमा फर्किने दाबी गरेका थिए । तर उपचार पश्चात पनि सो हात्ती निको नभएको र समयमा उपचार नगरे हात्तीको ज्यानै जाने सम्भावना रहेको भन्दै स्थानीयले सरोकारवाला निकासँग उपचारको माग गरेका छन् ।  

डिभिजन वन कार्यालय रौतहटले हात्तीको उपचारको व्यवस्था मिलाउन आफूहरूसँग जनशक्ति र प्रविधि नभएको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा राष्ट्रिय प्रकृति संरक्षण कोषमा पटकपटक पत्रचार गरे पनि निकायहरूले हालसम्म कुनै ठोस प्रतिक्रिया जनाएका छैनन् । 

घाइते हात्तीको अवस्था हेर्दा दक्ष चिकित्सक तथा प्राविधिकहरूको निगरानीमा लामो समयसम्म उपचार गर्नुपर्ने देखिएकाले पर्सा राष्ट्रिय निकुञ्ज वा चितवन राष्ट्रिय निकुञ्जमा लगेर उपचार गर्दा ठीक हुने वन प्राविधिकहरू बताउँछन् । 

हात्ती संरक्षित जङ्गली जनावरमा पर्छ । हात्तीको संरक्षणको लागि राज्यले पनि बर्सेनी ठूलो संख्यामा जनशक्ति र बजेटको खर्च गरिरहेको हुन्छ । एउटा हात्तीको मृत्यु भएमा प्रकृतिमा असर त परिहाल्छ त्यसमाथि राज्यको लगानी पनि खेर जान्छ । रौतहटमा घाइते अवस्थामा भौतारीरहेको एमगजलाई यथाशक्य चाँडो सबै मिलेर उद्धार र उपचार गरेर उसलाई मृत्युबाट जोगाउन स्थानीयले आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update