काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
उनले गणतन्त्र पनि माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताए । मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको उनकाे दाबी छ ।
२०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको उनकाे भनाइ छ । शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्ने कुराको पुष्टि भएको उनले जिकिर गरे ।
माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? मन्त्री गुरुङले प्रश्न गरे । जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिष्ट पार्टी हो कि होइन ? उनकाे प्रश्न छ ।
मन्त्री गुरुङले भने, '२०६५ साल जेठ १५ गते पहिलो संविधान सभाको पहिलो बैठक बसेको थियो । त्यो पहिलो बैठकले मुलुकमा अब राजतन्त्र चाहिँदैन भनेर निर्णय गरेको हो । राजतन्त्र माओवादीले रुकुमबाट वा रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर क्रान्ति सम्पन्न भएको होइन, यो मुलुकमा । यो मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको हो । सामन्तीवाद, त्यसका नायिके राजतन्त्र, राजसंस्था हामीले बुलेटबाट होइन, ब्यालेटबाट पराजित गरेका हौँ । ६०१ जना सांसदमध्ये १ जना सभाध्यक्ष भइहाले । ५९६ जनाले राजतन्त्र चाहिँदैन, गणतन्त्र, लोकतन्त्र चाहिन्छ भनेर मत हालेर आएको हो । कमल थापाका ४ जना थिए, उनीहरुले राजतन्त्र चाहिन्छ, गणतन्त्र चाहिँदैन भने । त्यसकारणले भोटबाट शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि हुन्छ । हाम्रो पार्टीको नीति जनताको बहुदलीय जनवादको क्रान्तिको पाटो सही थियो भन्नेकुरा पुष्टि हुन्छ ।'
मओवादी केन्द्र नाम राखेको भए पनि माओवाद सही हो भनेर भन्न नसकेको उनले बताए । नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बने पनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको बताए । क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद नै भएकाे उनकाे भनाइ छ ।
गुरुङले थपे, 'माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? माओवाद भन्ने शब्दबाट किन डराएर भागिरहेको छ । जनयुद्ध त उनीहरुले बेचेर खाइसके । हामीलाई भनेका होइनन् तिनीहरुले क्रान्तिको बेलामा ? जसको आफ्नो सेना हुँदैन, त्यो कम्युनिष्ट पार्टी हुँदैन । जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन । एमाले संसदीय दलदलमा फसिसक्यो, एमाले कम्युनिष्ट पार्टी होइन । मलाई कम्युनिष्ट होइनन् भनेर एक जनाले सर भन्थे । तर आज उहाँहरुसँग सेना छैन, उहाँहरु कम्युनिष्ट पार्टी हो की होइन ? हामीले त भनेका थियौँ, सेना बनाउने कुरा, हतियार उठाउने कुरा समाज र परिस्थिति अनुसार हुन्छ ।'
मन्त्री गुरुङले माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भएको समेत बताए । माओवादीले जनयुद्धका नाममा गरेको हत्या, हिंसा राजनीतिक मुद्दा नभएको जिकिर गरे । माओवाद मानिरहने शक्तिले संसदीय प्रणालीमा भाग लिने कुरा नैतिक सिद्धान्तअनुसार नमिल्ने समेत उनकाे जिकिर छ ।
