News 24 Television
कुलमानलाई हटाए सडक र सदनमा आन्दोलन गर्ने चेतावनी

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले  सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सकड र सदनबाट विरोध गर्ने चेतावनी दिएका हुन् । उनले सरकारले कुलमानलाई हटएर मुलुकलाई अन्धकारतिर धकेलिरहेको बताए ।

उनले भने, ‘कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदै छ, मन्त्रीपरिषद्को निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुवै ठाउँबाट आवाज उठ्छ ।’

उनले दशरथ रंगशालामा केपी ओली कपको समापन समारोहमा दर्शक कुट्ने आयोजकलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीको आलोचना गर्दैमा मान्छे कुट्न नपाइने उनको भनाइ छ । 

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अंक दिएको भन्दै आपत्ति जनाए । उनले कार्यकारी निर्देशक घिसिङलाई पटक पटक स्पष्टिकरण सोधिएकोबारे सरकारको ध्यानाकर्षण गराए । घिसिङले प्राधिकरणलाई नाफामा लैजान मुख्य भुमिका खेलेको भन्दै सरकार हात धोएर उनकाे पछि लागेको टिप्पणी गरे । 
पाण्डेले भने, ‘जसले सधैं रकम उठाउने कुरा जो गरिरहनुभएको छ । त्यो करम उठाउने कुरामा पनि रोकावट बारम्बार जो आइरहेको छ । सरकारले यस्तो नगरियोस् । यसका लागि हामी सरकारलाई रुलिङ गर्न समेत अनुरोध गर्न चाहन्छौं ।’

उनले सरकारले उद्योगहरुको बक्यौता उठाउन समेत रोक लगाइरहेको भन्दै त्यसाे गर्न नदिन सभामुखसँग रुलिङको माग गरे ।

कुलमानबारे सांसदहरूले प्रश्न उठाएपछि सभामुख देवराज घिमिरेले कुलमानमाथिको कारबाही गर्न लागिएकाेबारे संसदमा जानकारी गराउन सरकारकाे नाममा रुलिङ गरे ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update