News 24 Television
पार्टी एकताबाट किन टाढिँदैछ नेकपा एस ? अन्य दलहरु पनि प्रचण्डबाट दूर !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई बाहिरै राखेर वृहत कम्युनिष्ट एकताका लागि पहल गर्दै आएपनि उनी सफल हुन सकेका छैनन् । प्रचण्डले नेकपा विभाजन भएपछि लगत्तैबाट एमाले बाहेकका कम्युनिष्टहरुको एकताका लागि पहल थालेका थिए । उनकोे यो प्रयास थालनी भएको पनि लामै समय भइसक्यो । तरपनि अहिलेसम्म माओवादीको कुनै दलसँग एकता हुन सकिरहेको छैन । 

०७९ सालको आम निर्वाचन अघि नै माओवादीले नेकपा एकीकृत समाजवादीसँग एकताका लागि तयारी गरेको थियो । यद्यपि यो योजना सफल हुन सकेको छैन । 

टाढिँदै नेकपा एकीकृत समाजवादी 

माओवादीले एकोहोरो रुपमा नेकपा एकीकृत समाजवादीसँग एकता हुने अन्तिम तयारी भइरहेको दावी गर्दै आएको छ । तर यो दावीलाई नेकपा एसले भने अस्वीकार गर्दै आएको छ । माओवादी अध्यक्ष प्रचण्डले केही साता अघि कर्णाली पुगेर तत्कालै नेकपा एकीकृत समाजवादीसँग एकता हुने जिकिर गरेका थिए । 

त्यस्तै फागुन  १ गते नै खोटाङ पुगेका माओवादीका केन्द्रमा उपमहासचिव वर्षमान पुनले नेकपा एससँग एकताका लागि तयारी भइरहेको खुलाएका थिए । यद्यपि नेकपा एसले माओवादीको उक्त जिकिरलाई गलत भएको जवाफ दियो । पार्टी अध्यक्ष माधव नेपालले नेकपा एस अन्य दलहरुसँग एकता गर्ने तयारीमा रहेको भन्ने विषयको खण्डन गरेका छन् । 

उनी मात्रै होइन, अर्का नेता झलनाथ खनालले पनि पछिल्लो समय नेकपा एसले तत्काल कुनै दलसँग एकता नगर्ने प्रष्टिकरण दिइरहेका छन् । दलहरुसँग मुद्धा केन्द्रीत सहकार्य हुनसक्ने तर तत्काल कुनै दलसँग एकता सम्भव नभएको उनको दावी छ । 

नेसपा र नेकपा पनि एकताबाट टाढा 

नेपाल समाजवादी पार्टी (नेसपा) पनि माओवादी केन्द्रसँग एकताका लागि तम्तयार रहेको दल हो । उसले माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर निर्वाचनमा एक सिट समेत हासिल गरेको छ । निर्वाचन सम्पन्न भएको यतिका समय वित्दा पनि माओवादीसँग उसको एकता हुन सकेको छैन । नेसपा अध्यक्ष महिन्द्र राय यादवले अधिवेशनबाट माओवादीले पार्टीको नाम फेरेमात्रै एकता सम्भव हुने अडान लिइरहेका छन् । 

उता नेत्रविक्रम चन्द ‘विप्लव’ सँग पनि पार्टी एकताको तयारी गरेका प्रचण्डले ठोष निश्कर्ष दिन सकेका छैनन् । प्रचण्डले माओवादीको महासचिव बनाउने गरी विप्लवलाई पार्टी भित्र्याउने तयारी गरेपनि अन्य नेताहरुको असहमतिका कारण प्रचण्ड व्याक भएको बताइन्छ । यसपछि प्रचण्ड विप्लव भित्र्याउने विषयमा अनिर्णित छन् । 

समाजवादी मोर्चा पनि असफल !

प्रचण्डले सरकारको नेतृत्वमा हुँदा नै दलहरुलाई साइजमा राख्न समाजवादी मोर्चा खडा गरेका थिए । माओवादी ३२ सिट भएको अवस्थामा प्रचण्डले नेकपा एस, जसपा तथा विप्लव नेतृत्वको नेकपा लगायतलाई मोर्चामा आबद्ध गराइ आफ्नो शक्ति देखाउने राण्नीति लिए । तर यो रणनीति खास सफल भएको देखिँदैन । मोर्चा सक्रिय रहँदा नै माओवादी सत्ताबाट बाहिरिनु परेको थियो भने यसपछि पनि समाजवादी मोर्चा प्रभावकारी बन्न सकेको छैन । 

मोर्चाबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने लगभग बाहिरिसकेको छ । प्रचण्ड सत्तामा रहेकै बेला आफ्नो पार्टी विभाजन गरिदिएको भन्दै उपेन्द्रले प्रचण्डमाथि रोष प्रकट गर्ने गरेका छन् । उपेन्द्रको अनइच्छाका कारण पनि पछिल्लो सयम समाजवादी मोर्चा प्रभावविहीन र निश्क्रिय बनिरहेको हो । 

समाजवादी मोर्चा र अन्य दलहरुसँगको एकताको प्रयास पनि प्रचण्डकै योजना अनुसार भएकाले यस्लाई पार लगाउन नसक्नु पनि उनकै दोषका रुपमा हेर्ने गरिएको छ । त्यसकारण पनि प्रचण्ड यो मामलामा हदैसम्म असफल देखिएका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update