News 24 Television
मोटर साइकल ¥यालीबाट राप्रपा उत्साहित, पूर्वराजाको स्वागतमा खबरदारी सभा स्थगित 

काठमाडौं । पछिल्लो समय नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति जनमत बढ्दै गएको देखिन्छ । मुलुकको राजनीतिक स्थिरता कमजोर हुँदै गएको, नेताहरूको शैली न सुध्रिएको र आमनागरिकको निराशाको ग्राफ बढ्दै गएका कारण कारण पनि पछिल्लो समय राजसंस्थाप्रतिको बहस र समर्थन बढ्दै गएको देखिएको हो ।

गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियोमार्फत् दिएको अभिव्यक्तिले राजावादीहरूमाझ नयाँ ऊर्जा थपेको छ । आफ्नो सम्बोधनमा उनले मुलुक असफलतातर्फ उन्मुख भएको, राष्ट्रिय अखण्डता र जनताको विश्वास कमजोर भइरहेको जस्ता विषय उठाउँदै सहयोगको अपिल गरेका थिए । 

त्यसपछि राजसंस्थाको पुनस्र्थापनाको पक्षमा खुलेर आवाज उठाउने समूह र दल झन् सक्रिय भएका छन् । राजसंस्थाको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पूर्वराजाको संवोधनपछि निकै हौसिएको मात्रै छैन,  विभिन्न कार्यक्रमहरु नै आयोजना गरेर प्रदर्शनमा उत्रिएको छ । सामाजिक सञ्जालमा पनि राजसंस्थाको पक्षमा बहसहरू चर्किएको छ ।

किन चर्कियो प्रदर्शन ? 

राजसंस्थाप्रति आकर्षण बढ्नुको मुख्य कारण भनेकै वर्तमान नेतृत्वप्रति जनता निराश हुनु हो । राजतन्त्र हटाएर मुलुक गणतन्त्रमा गएको २ दशकभन्दा बढि समय बितिसक्दा पनि राजनीतिक दलका नेताहरु सुध्रिएका छैनन् । 

पछिल्ला वर्षहरूमा मुलुकमा बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र कमजोर शासन व्यवस्थाका कारण आमजनता असन्तुष्ट छन् । नेताहरूबीचको आन्तरिक कलह, अस्थिर सत्ता समीकरण र विकास निर्माणमा देखिएको शिथिलताले पनि जनताको विश्वास गुम्दै गएको छ । यस्तो अवस्थामा राजसंस्थालाई वैकल्पिक रूपमा हेर्ने मानसिकता स्वभाविकरुपमा विकसित हुँदै गएको देखिन्छ । 

विश्लेषकहरुका अनुसार यदि वर्तमान नेतृत्वले जनअपेक्षाअनुसार सुधार नगरे, भ्रष्टाचार नियन्त्रण, सुशासन र आर्थिक विकासमा ध्यान नदिए राजसंस्थाको समर्थन झन् बढ्ने सम्भावना छ । इतिहास हेर्दा, नेपालमा राजनीतिक नेत्तृत्वले जनअपेक्षा अनुसार चल्न नसकदा राणादेखि पञ्चायतहुँदै राजतन्त्र समेतलाई उल्ट्याएका छन् । तर पछिल्लो समय फेरि राजसंस्था पुनःस्थापनाको माग उठ्दै जाँदा अबको दिनमा यो बहस कसरी अघि बढ्छ, सरकारको रणनीति के हुन्छ, र राजसंस्थाको समर्थन कहाँसम्म पुग्छ भन्ने हेर्न बाँकी छ । 

प्रधानमन्त्रीदेखि प्रतिपक्षी नेतासम्मको प्रतिक्रिया 

यसैबीच, सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलहरू भने यस घटनाक्रमप्रति सतर्क देखिएका छन् । प्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेताहरु समेतले पूर्वराजालाई चुनौति दिदै प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले बिहिवार महोत्तरीबाट मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा शाहलाई चुनौति दिएका छन् । नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताउँदै मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको प्रधानमन्त्रीको जिकिर छ । 

उता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राप्रपाको पछिल्लो प्रदर्शनलाई लक्षित गर्दै नेपाली जनताको बलबाट गलहत्याइएका सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् । 

राप्रपाको नेक्स्ट प्लान 

अहिले पोखरामा रहेका पूर्वराजा धार्मिक कर्म र भेटघाटमा सहभागी हुँदै आएका छन् । यता,  राजतन्त्र पुनःस्थापनाको अडान राख्दै आएको राप्रपाले आफ्ना गतिविधिलाई बढावा दिएको छ । पूर्वराजा राप्रपाले फागुन २५ गते आयोजना गरेको खबरदारी सभालाई स्थगन गरेको छ । 

पूर्वराजा पोखराबाट काठमाडौँ फर्कने दिन भएकाले स्वागतका लागि विमानस्थल जाने कार्यक्रम तय गर्दै राप्रपाले खबरदारी सभा स्थगित गरेको हो । राप्रपाले बुधबार काठमाडौंमा राजतन्त्रको पक्षमा मोटरसाइकल ¥याली गरेको थियो । ¥यालीमा राम्रो सहभागिता भएपछि राप्रपा उत्साहित बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update