News 24 Television
मुख्यमन्त्री दौडेपछि मच्चियो त्रास ! आउला त मधेसमा सुधार ?

काठमाडौं । मधेस कति विकराल स्थितिमा छ, त्यो मधेसका मुख्यमन्त्री सतिसकुमार सिंहको अनुगमन र निर्देशनले प्रष्ट पार्दै लगेको छ । मधेसमा अवैध अस्पतालको बिगबिगी नै चलेको देखिन्छ भने शल्यक्रिया गर्ने मामलामै गम्भीर त्रुटी गरेको भेटिने गरेको छ । यस्तोमा मुख्यमन्त्री सिंहले अहिले प्रदेश सरकारको आवश्यकतालाई औल्याउने गरि काम गरिरहेका छन् । जुन विषयले उनको प्रशंसा समेत हुन थालेको छ । 

सतिसकुमार सिंह, मधेस प्रदेशका मुख्यमन्त्री । नगरपालिकाको निर्वाचनमा पराजित भएपछि प्रदेशसभा सदस्य निर्वाचित जनमत पार्टीका सिंहले अहिले मधेसमा तहल्का पिटिरहेका छन् । मधेसमा व्याप्त अवैध अस्पतालहरुको भागाभाग नै चलिरहेको छ । 

अस्पतालको अनुगमन गर्ने, कानून विपरित चलेकालाई बन्द गर्न निर्देशन दिने, सतिसकुमारले गरिरहेको यो कामको प्रसंसा चुलिन थालेको छ । उनी अहिले पनि निरन्तर अस्पतालको अनुगमन र निर्देशनमा जुटिरहेका छन् ।

अस्पतालको निरिक्षणमा निस्किएका मुख्यमन्त्री सिंहले शल्यक्रियाको काम धमाधम भइरहेपनि एनेस्थेसिया अर्थात बेहोस बनाउने डाक्टरबिना नै अपरेशन भइरहेको पाइएको देखिन्छ ।

निजी अस्पतालहरुले गरिरहेको यस्तो कामले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । तर, यसको निगरानी हुन नसक्दा उनीहरुले वक्तव्यबाजी गर्नेदेखि सरकारलाई नै चेतावनी दिने गरेका छन् । उसोतः मधेसमा निजी अस्पतालमा उपचार गराएका धेरै बिरामीले ज्यान गुमाउने गरेको तथ्य लुकेको छैन् । 

अस्पतालमा तोडफोडदेखि विभिन्न घटनाहरुले मधेसमा अवैध उपचारको जालोलाई पहिलेदेखि नै देखाइसकेपनि यसको नियन्त्रणमा काम गर्न नसक्दा स्थिति भयाबह थियो । तर, पछिल्लो समय मुख्यमन्त्री सिंहले गरिरहेको कामले निजी अस्पतालहरु जो अवैध र खेलवाडका साथ चलिरहेका छन्, उनीहरुको भागाभाग नै चलेको छ । तर, यो अभियानले निरन्तरता पाउला ? शंका भने उत्तिकै देखिन्छ । 

मुख्यमन्त्री सिंहले रौतहटको गरुडा नगरपालिकामा १० अस्पतालको निरिक्षण गर्दा सबै अस्पताल कानूनसम्मत सञ्चालन नभएको पाइको उनको भनाई छ । यस्तो स्थितिमा जनताले पाउने स्वास्थ्य सेवा प्रभावकारी होला ? निसंकोच हुन सक्दैन् । अझं रोचक कुरा त मुख्यमन्त्री सिंहले नै भनेका छन्, एम्बुलेन्स चालक र अहेब मिलेर अस्पताल सञ्चालनमा ल्याएका छन् । 

उनले यतिमात्रै भनेका छैनन्, अहिले आफूले गरिरहेको काममा दबाब आउन थालेको समेत भनेका छ् । तर, आफू नरोकिने उनको भनाई छ । 

मधेसको स्थितिलाई  मुख्यमन्त्री सिंहले बाहिर ल्याइदिएपनि यसको रुपरेखा अझैं विकराल रहेको बताइन्छ । मधेसका केहि जिल्लामा हामीले सर्वसाधारणलाई ’मधेसमा नक्कली डाक्टरले अपरेशन गर्नेदेखि अवैध अस्पतालको बिगबिगी नै देखिन्छ । यस्तो हुनुको कारण के हुनसक्छ ? प्रदेश सरकारले गरेको कामलाई कसरी हेर्नुभएको छ ?’ भनेर सोधेका थियौ । के भन्छन् त सर्वसाधारण ?

मधेसमा स्वास्थ्य क्षेत्रमा मात्रै नभई शिक्षा, रोजगारी, समानता, दाइजो लगायतका विभिन्न समस्या जगडिएर बसेका छन् । यस्ता समस्याको समाधानमा राज्यले पहल गर्नुपर्नेमा खास प्रभावकारी काम हुन सकेको देखिन्न । तर, मुख्यमन्त्री सिंहले थालेका कामले प्रदेशको औचित्यमाथिका प्रश्नको जवाफ मात्रै नभएर जनताको जीवनस्तर उकास्नका लागि भएको पेचिलो पहलको रुपमा समेत लिन सकिन्छ ।

उसोतः मुख्यमन्त्री सिंहले सामाजिक वेथिति र सार्वजनिक सेवा प्रवाहको विषयमा चाल्न थालेका कदमको निरन्तरता र निराकरणको बाटो समात्यो भनेमात्रै पनि यसले प्रदेशको औचित्यमाथिको प्रश्नलाई धेरै ठूलो जवाफ दिनेछ । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update