
झापा । यातायात व्यवस्था कार्यालय झापामा बिचौलियाको रजगज चल्दा सेवाग्राही ठगिने गरेको गुनासोसहितको समाचार न्यूज २४ टेलिभिजनमा प्रशारण भएपछि जिल्ला प्रहरी कार्यालय झापा सक्रिय बनेको छ ।
जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले दुई महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको छ ।
सवारी सम्बन्धी कामका लागि यातायात कार्यालय पुग्दा सेवाग्राहीहरु बिचौलियाका कारण ठगिने गरेको, केही बिचौलियाले सेवाग्राहीको लाखौं रुपैयाँ रकम लिएर फरार रहेको र सेवाग्राहीबाट रकम लिने र कार्यालयमा दाखिला नगर्ने लगायतका समस्याहरु न्यूज २४ टेलिभिजनबाट केही दिनअघि प्रशारण गरिएको थियो ।
सेटिङ्गमा बिचौलियाहरुले खुलेआम यातायात व्यवस्था कार्यालय आसपासमा अड्डा नै जमाएर आर्थिक लेनदेन गर्दा करिब १ दर्जन सेवाग्राही ठगिएका थिए । फरक फरक प्रकृतिको घटनामा कतिपयलाई बिल नै नक्कली, नबिकरण नक्कली समेत दिएको फेला परेको थियो ।
उनीहरूलाई बिचौलियाले सेटिङ्गमा सरकारी छाप र अधिकृतको हस्ताक्षर समेत दुरुपयोग गरि लाखौं रकम ठगेका थिए । यसरी वितण्डा मच्चाइरहेका विचौलियामध्ये शुक्रवार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्तटोलीले दुईजना महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड वडा नम्बर १ की २४ बर्षिय गरिमा घिमिरे, ५२ बर्षिय सीता भेटवाल, २७ बर्षिय सुरज आचार्य, ४२ बर्षिय तुलसी खतिवडा र २९ बर्षिय रोशन आचार्य, त्यस्तै बिर्तामोड २ का २४ बर्षिय टंक प्रसाद राजवंशी, बिर्तामोड ३ का २६ बर्षिय रिशन लिम्बू, बिर्तामोड ५ का ४३ बर्षिय राम प्रसाद ढकाल र कन्काई १ का २० बर्षिय दिवस राई रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरि लाखौ ठगीको आरोप लागेका कन्काई निवासी विशाल भण्डारी फरार छन् ।
उनी यातायात व्यवस्था कार्यालय झापामा लेखापढीको काम गर्दै आइरहेका छन् । विचौलियाको बिषयमा कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले सतही जवाफ दिँदै पन्छिने कोशिश गरेका थिए । तर, शुक्रवा प्रहरीले बिचौलियालाई नियन्त्रणमा लिएर अनुशन्धान थालिसकेको छ ।