
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै पार्टीको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानमा सहभागि छन् । अभियानमा सक्रिय सहभागिता जनाएका प्रचण्डले सत्ता गठबन्धनको सरकारलाई अनैतिक सरकार भनिरहेका मात्र छैनन, यो सरकार छिट्टै ढल्ने भविष्यवाण्ी गरिरहेका छन् । सरकार ढले पनि माओवादी केन्द्र भने ८४ सम्म सरकारमा नजाने बताइरहेका छन् ।
एमाले गठबन्धनको सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले कांग्रेस गठबन्धन सरकारको निकै आलोचना गरे । सडकदेखि सदनसम्म नै सरकारको तिखो आलोचना गर्दै आएका प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्धको अभियान चलाएकै कारण सरकार छाड्नुपरेको बताइरहेका छन् ।
सरकारबाट बाहिर भएपछि प्रचण्ड पार्टी अभियानका क्रममा देश दौडाहामा निस्किएका छन् । पछिल्लो पटक हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा प्रचण्ड तराईका जिल्लाहरुमा छन् । अभियानमा जाँदा प्रचण्डले पार्टी कार्यकर्ता तथा शहीद तथा बेपत्ता परिवारको घरघरमा पुगिरहेका छन् । विगतमा जुन वर्ग समुदायका लागि लडेको, त्यही वर्ग समुदायसँग पुग्न नसकेको भन्दै उनले स्वीकार गरिरहेका छन् । विगतमा बाटो विराएको स्वीकार गर्दै उनले अभियानबाट सिकेको पनि प्रचण्डले बताउने गरेका छन् ।
पछिल्लो समय पार्टी अभियानमा निकै सक्रिय देखिएका प्रचण्ड स्थानीय कार्यकर्ताको घरघरमै पुग्ने, उनीहरुसँगै बसेर खाने गरेका छन् । प्रचण्डको यो सक्रियता देखेर स्थानीय नेता कार्यकर्तामा पनि उत्साहित बनेका छन् । अभियानका क्रममा गाउँ गाउँ र टोलटोलमा पुग्न भ्याएका उनले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सरकार ढल्ने भविष्यवाणीसमेत गरेका थिए ।
तत्कालै एमाले कांग्रेस गठबन्धनको सरकार ढल्ने उनको अभिब्यक्तिले राजनीतिक तरंग नै उत्पन्न गरिदियो । प्रचण्डको यो अभिब्यक्तिकैबेला सत्तारुढ प्रमुख २ दल कांग्रेस र एमालेबीच पनि खटपट देखिरहेको छ । कांग्रेस सत्तारुढ दल कांग्रेसका नेताहरुले नै सरकारको काम कारबाहीप्रति तीब्र असन्तुष्टि जनाउन थालेपछि सरकार ढल्ने आशंकाहरु पनि भइरहेका छन् ।
कांग्रेस नेताहरुको असन्तुष्टिका छताछुल्ल हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत कांग्रेस नेताहरु अनुपस्थित भएपछि सरकारको खटपटलाई पुष्टि गरिदियो । प्रचण्डले तत्काल सरकार ढल्ने भविष्यवाणी गरे पनि ८४ सालसम्म आफू सरकारमा नजाने बताइरहेका छन् ।
ओलीको आलोचना, देउवाप्रति नरम
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गर्ने गरे पनि प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाप्रति भने नरम देखिने गरेका छन् । विभिन्न ठाउँमा सार्वजनिक अभिब्यक्ति दिने क्रममा नै उनले देउवालाई स्पष्ट वक्ताका रुपमा अथ्र्याउने गरेका छन् ।
तत्कालिन अवस्था एमालेको काँधमा आफू प्रधानमन्त्री भएका बेला ओलीले आफूलाई भ्रमजालमा पारेको अभिब्यक्ति प्रचण्डले दिइ नै रहेका हुन्छन् । जतिबेला ओलीले श्वर्ग गए पनि नर्क गए पनि सँगैसँगै जाने भने भ्रम दिएको भन्दै प्रचण्डले सदनदेखि सडकसम्म नै कुण्ठा पोख्ने काम गरे ।
कांग्रेस एमालेको गठबन्धनलाई अनैतिक भन्ने गरेका प्रचण्डले गठबन्धन टुटाउन जोडतोडले लागेका छन् । त्यसैले उनले पछिल्लो पटक देउवाप्रति नरम देखिने गरेका छन् ।
मिशन ८४ को मुद्दा भ्रष्टाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचारमाथिको कारबाहीलाई तीब्र बनाएकै बेला सरकार छाड्नुपरेको विषयलाई अहिले जोडतोडले उठाएका छन् । यहि मुद्दाको कारण कार्यकर्ता पंक्तिमा पनि उत्साह छाएको विश्लेषण माओवादीमा छ । यहिबीचमा भएको स्थानीय तहको उपनिर्वाचन र हालै सम्पन्न भएको स्ववियु निर्वाचनको परिणामले पनि माओवादी पंक्ति उत्साहित छ ।
उपनिर्वाचन र स्ववियु चुनावको परिणामका साथै अभियानका क्रममा स्थानीय कार्यकर्ताको वाहवाहीका कारण हौसिएका प्रचण्डले एक्लै चुनाव लड्न सकिने विश्वास लिन थालेका छन् । त्यसैले आगामी ८४ को निर्वाचनसम्म नै भ्रष्टाचारविरुद्धको मुद्दालाई उठाएमा जनमत पाउन सकिने प्रचण्डको विश्वास छ ।