
काठमाडौँ । नेपाल गणतन्त्रमा गइसकेपछि नेपाली सञ्चार क्षेत्रमा न्यूज २४ टेलिभिजनले पनि औपचारिक पाइला अघि बढायो । सञ्चार क्षेत्र विकास एवम् विस्तारमा टेलिभिजनले अहम भूमिका खेलेको जनस्तरबाटै प्रसंशा हुने गरेको छ । तर, टेलिभिजन स्थापनापछिका राजनीतिक घटनाक्रम र त्यसको साक्षी बनेको यस संस्थाले विभिन्न उतारचढावका माझ कस्ता घटना व्यहोर्नु पर्यो त ?
नेपाल गणतन्त्र स्थापनाको विकासक्रम शुरु भएसँग नेपालमा उदाय सञ्चार गृह हो, न्यूज २४ टेलिभिजन । न्यूज २४ को उमेर १५ वर्ष पुग्दैगर्दा यस संस्थाले नेपालको उतारचढापपूर्ण राजनीतिलाई नजिकबाट निहाल्यो । व्यवस्था सुदृढीकरणमा न्यूज २४ सधैं कटिबद्ध रहयो ।
२०६२/०६३ को जनआन्दोलनले नेपालमा शाह वंशीय राजतन्त्रको अन्त्यसंगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था त ल्यायो, तर प्रणालीमाथिका प्रश्न जहिल्यै पेचिला बनिरहे । गणतन्त्र स्थापनापछि संविधान सभाको निर्वाचन र त्यसपछि भएका संसदीय निर्वाचनले नेपालको राजनीतिक प्रणालीको परीक्षण गरिरहेको छ । संविधानले नै निर्वाचन प्रणाली मिश्रित ढंगले गर्ने व्यवस्था गरेको छ भने राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको कल्पना गरेको छ । सात प्रदेश र स्थानीय तहमा रहेको नेपालले अहिले शासन प्रणालीका अनेक चुनौति फेस गरिरहेको देखिन्छ ।
यसबीचमा संविधान निर्माण, संघीयताको अभ्यास र सुशासनको सवालमा केहि त्रुटीहरु देखिदा अहिले आम सर्वसाधारणमा एकखाले निराशा समेत देखिन्छ । तर, यसको समाधान के ? विमर्श चलिरहेको छ । लामो समयको रस्साकस्सीपछि २०७२ मा नेपालको संविधान त बन्यो, तर, संविधानको अपनत्व सिंगो नेपालले लिने स्थिति बनेन् । संविधानविरुद्ध मधेस केन्द्रित दलहरुले आन्दोलन थाले र भारतले त्यहि आन्दोलनलाई देखाउदै अघोषित नाकाबन्दी लगायो ।
भारतमा स्थिर सरकार, र राजनीतिक प्रणालीका कारण अहिले पनि नरेन्द्र मोदीले शासन गरिरहेका छन् भने नेपालमा त्यसपछि धेरै सरकार बने,अहिले पनि बन्ने र भत्किनेक्रम चलिरहेको छ । वर्तमान सरकारको आयु पनि लगभग उत्तरार्धतिर छ । सबै हेर्दा नाकाबन्दीदेखि कोरोना र संविधान निर्माणपछि संघीयताको कार्यान्वयनमा नेपालले अनेक झन्झट व्यहोर्नु परिरहेको छ । संघीयताको कार्यान्वयनमा देखिएको संकट, कानून निर्माणमा प्रतिनिधिसभाले उल्लेख्य सफलता हासिल गर्न नसक्नु लगायतका कारण पनि संकट र समस्या बल्झिने खतरा देखिन्छ । संविधान उत्कृष्ट बनेको भनिएपनि कार्यान्वयनको पक्ष फितलो बन्दा राजनीतिक उथलपुथल भने चलि नै रहेको देखिन्छ ।
नेपालको राजनीतिक जगतमा उतारचढापका श्रंखला चल्दैगर्दा सुशासन, भ्रष्टाचार अन्त्य, जवाफदेही राजनीतिक प्रणाली, गणतन्त्रको सुदृढीकरण र सबलीकरणमा आम दर्शक तथा स्रोतालाई सुसूचित बनाउने गरि न्यूज २४ टेलिभिजनले नियमित विभिन्न कार्यक्रम गर्दै आएको छ । यसका साथै टेलिभिजनले सञ्चार माध्यमको भूमिका निर्वाहमात्रै गरेको छैन्, विभिन्न क्षेत्रमा दुख पाएका आम नागरिकका लागि समेत विभिन्न सहजीकरण र राहत उद्दारका लागि राज्यलाई झकझक्याउने काम गरि नै रहेको छ । तर, मुलुकको राजनीतिक प्रणालीमाथिका प्रश्न पछिल्लो समय जब्बर बन्दै गएका छन् ।
गणतन्त्र र संविधानमाथि नै प्रश्न
जनताद्वारा निर्वाचित प्रतिनिधिले लामो समय लगाएर निर्माण गरेको संविधानको अपनत्व लिने विषयमा केहि मतभेदहरु देखिन्छन् । ती मतभेदलाई संस्थागत ढंगले समाधानको बाटोमा लैजानुको सट्टा राजनीतिक दाउपेच थप चर्किने खतरा देखिदा गणतन्त्र र संविधानमाथिका प्रश्नलाई जवाफदेही ढंगले नै समाधान खोज्नुपर्ने स्थिति बनेको छ । उसो त संविधान र गणतन्त्र पक्षधरहरु एकमत हुने भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डबीच सहमति नै भएको भनिएको छ ।
गणतन्त्र पक्षधरहरुले यस्तो जिकिर गरेपनि संसदले नै फालेको राजसंस्थाको पक्षमा समेत आन्दोलन, प्रदर्शन चल्ने गरेको छ । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था ल्याएरै छाड्ने दाबीसहित अनेक किसिमले आन्दोलन गरिरहेको छ भने आन्दोलन निरन्तर हुने भनिरहेको छ।
यसरी उठेका प्रश्नमा जनतालाई भने खास चासो देखिन्न ।सर्वसाधारणहरु जीवनस्तरमा परिवर्तनको आभास गर्न चाहन्छन भने कुुशासन र भ्रष्टाचारको समुल अन्त्य भएको हेर्न चाहन्छन् । तर, यी विषय गौण बन्दा अनेक प्रश्न र संकट भने देखिन थालेका छन् ।
संविधान र गणतन्त्रको पक्षमा निरन्तर आवाज
न्यूज २४ टेलिभिजनले मुलुकको संविधान, गणतन्त्र र राजनीतिक प्रणालीलाई सधै बलियो पार्ने गरि सूचना संप्रेषण गरिरहेको छ । मुलुकप्रति जवाफदेही पत्रकारिताको पक्षमा टेलिभिजनले निरन्तर आवाज मात्रै उठाएको छैन्, यी सबै घटनाको साक्षी समेत बनेको छ । टेलिभिजनले पारदर्शीता, नेतृत्वको जवाफदेहीता सुशासन, भ्रष्टाचार अन्त्य र सामूदायिक साझेदारीमा सरकार सञ्चालनको पक्षमा निरन्तर आवाज उठाइरहेको छ भने पीर मर्कामा परेका आम नेपालीलाई समेत केन्द्रमा राखेर जनतामैत्री सूचना संप्रेषणको नेतृत्व गरिरहेको छ ।
यस्तो स्थितिमा टेलिभिजनले देखाएको अग्रसरता र जवाफदेहीताको फलस्वरुप आम सर्वसाधारणको अगाध विश्वास र विश्वसनीय माध्यम बन्नु चुनौतिपूर्ण काम भएको आम नेपालीको समर्थनले टेलिभिजन संविधान, गणतन्त्र र समग्र प्रणालीप्रति प्रतिबद्ध रहदै जागरुक समाज निर्माणमा टेवा पु¥याउने बाटो तय गर्नेछ ।