News 24 Television
संसारी माईको मन्दिर भत्काइयो, स्थानीय आक्रोशित 

झापा । झापाको मेचीनगरमा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगंगाधामस्थित संसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामूहिक पूजाको तयारीमा जुटेका स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष सुरेन्द्रनगर घैलाडुब्बा देवि तथा शिवालय मन्दिर पातलगंगामा  जलको कामनाका लागि सनसारी माईको विशेष पूजा गर्ने परम्परा रहेको छ । 

वैशाख २० गतेका लागि पूजा तयारीस्वरूप हालै मन्दिर वरिपरि सिमेन्टको बार लगाई, रङ्ग–रोगन गरेर सिला समेत स्थापना गरिएको थियो । स्थानीयका अनुसार सोमबार राति करिब १० बजे, बगान प्रशासनले आफ्नो क्षेत्र अतिक्रमण भएको भन्दै डोजर प्रयोग गरी मन्दिर तोडफोड गराएको बताउँछन् । 

बर्षौदेखि  पूजाआजा 

हुँदै आएको स्थलमा यस्तो घटनाले स्थानीय बासिन्दा आक्रोशित भएका छन् । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको यो स्थलमाथि सुवास संघाईको नेतृत्वमा रहेको टोकला बगानको निर्देशनमा जेसीबी प्रयोग गरी भएको आक्रमणप्रति कडा आपत्ति रहेको स्थानीय चन्द्र कोइराला बताउँछन् । 

मन्दिर रहेको यो जग्गा नेपाल सरकारको अधीनमा रहेको र सो क्षेत्र ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलको रूपमा चिनिएको सुरेन्द्रनगर घैलाडुब्बा देवि तथा शिवालय मन्दिर संरक्षण समिति अध्यक्ष गणेश कुमार खरेल बताउँछन् । 

पर्यटनसँगै धार्मिक इतिहाससँग जोडिएको यस क्षेत्र महाभारत कालमा अर्जुनले गौंचरणमा जादा तिर्खा लागि पानी पिउनका लागि धनुसले जमीनमुनी पातालबाट पानी निकालेर आफ्नो प्यास मेटाएको भन्ने किंवदन्ति रहेको छ । 

यहाँ अहिले पनि बाह्रै महिना पानी निस्किरहन्छ । नेपाल सरकारले संघाई ग्रुपलाई ५० बर्षका लागि बगान लिजमा दिएको र त्यसभन्दा बाहिर अनावश्यक नागरिकलाई हस्तक्षेप गर्ने काम बन्द गर्नुपर्ने मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमला बताउँछन् ।  

पुरातात्विक विभागबाट समेत विगतमा टोलि खटिएर यस क्षेत्रमा उत्खननसँगै संरक्षणको काम अगाडि बढिरहेको छ । सरकारले पनि आवश्यक बजेट विनियोजन गर्ने तरखरमा रहि आएको बेला निजी क्षेत्रले यसरी धार्मिक आस्थामाथि प्रहार गर्नु दुखद रहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update