
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनको खटपटको हल्लाले बेचैन थिए । मुख्यतः काँग्रेससँगको सहकार्यमा अडिएको एमाले सरकारमा गभर्नरसहितका विभिन्न नियुक्तिको विषयले सत्तामा संकट आएको चर्चा थियो ।
त्यस्तै काँग्रेसभित्रबाटै आइरहेको सरकारप्रतिको असन्तुष्टि र प्रतिपक्षीको बारम्बार सरकार ढल्ने हल्लाले ओलीमा बेचैन छाएको थियो । यद्यपि काँग्रेस सभापति शेरबहादुर देउवाको सरकार नढल्ने प्रष्टिकरण र ढाडसले ओली सत्ताको कुर्सीमा निर्धक्क बस्ने वातावरण बनेको छ ।
हल्ला र प्रष्टिकरण
काँग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि बैंकक जानुअघि सरकारी नियुक्तको विषयमा एमाले–काँग्रेसबीच केही मतभेद देखिए । तर उक्त समस्यालाई ओली र देउवाले वालुवाटारमै बसेर समाधानको प्रयास गरे । जसमा एमालेले नै राख्ने भनेको गर्भनर काँग्रेसलाई दिएर ओलीले समस्याको समाधान खोजे । यद्यपि अझैसम्म काँग्रेसले छानेको पात्र गभर्नर नियुक्त हुन सकेको छैन । यहीबीचमा देउवा बैंकक उडे । त्यसअघि देउवाले नेताहरुलाई आफ्नै निवासमा बोलाएर गरेको बैठकमा पनि नेताहरुले सरकारको कामकारावही तथा ओलीको कार्यशैलीमाथि प्रश्न गरेको दावी गरिन्छ ।
यही चर्चाकाबीच माओवादीले भने सरकार संकटमा रहेको र देउवा बैंककबाट फर्किए लगत्तै कोर्ष परिवर्तन हुने हल्ला फिजायो । यसैमा माओवादी अध्यक्ष प्रचण्डले बैंकक उड्नुअघि देउवाले आफूलाई टेलिफोन गरेकोसमेत भन्दिए । यसले ओलीलाई अझ तनाव थपेको थियो । तर सभापति देउवा र परराष्ट्रमन्त्री समेत रहेकी देउवा पत्नी आरजु स्वदेश फर्किएपछि भने माओवादीको सरकार ढल्ने दावी फेल खाएको छ । परराष्ट्रमन्त्री देउवाले स्वदेश फर्किएलगत्तै सरकार ढल्ने चर्चामा सत्यता नरहेको र यो विषय विपक्षीले मनोरञ्जनका लागि मात्रै उठाएको भन्दै त्यसको खारेज गरेकी छन् ।
विदेश भ्रमणमा रहेका बेला देउवा दम्पत्तिले प्रधानमन्त्री ओलीसँग समेत सम्पर्कमै रहेको जिकिर गरेका छन् । जुन निरन्तर संवाद रहनुले पनि सत्तामा खटपट रहेको भन्ने विपक्षीको दावीलाई अझ कमजोर पारेको छ ।
स्वदेश फर्केलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवाले नै सत्ता सहकार्यमा कुनै समस्या नरहेको प्रष्ट पारेका छन् । जसले ओलीलाई थप राहत मिलेको छ । यहीबीचमा उत्साहित ओलीले पनि विपक्षीको भ्रममा नपर्न आग्रह गर्दै अब १४ महिनापछि पदबाट राजीनामा दिने र शेरबहादुरलाई प्रधानमन्त्री बनाउने दोहो¥याएका छन् ।
उता एमालेकै अन्य सांसदहरुले पनि सरकार परिवतर्नको हल्ला फिजाएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डमाथि रोष प्रकट गरिरहेका छन् । एमालेका सबैजसो नेताहरुले प्रचण्डको भ्रमको खेतिबाहेक गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गर्ने गरेका छन् । सरकार ढल्छ भन्ने विपक्षीको दावी फण्डामात्रै भएको एमालेको निश्कर्ष छ ।
यस्तै आरोपकाबीच माओवादी नेताहरुले भने मिश्रित जवाफ दिन थालेका छन् । एमाले र काँग्रेसको प्रष्टिकरणसँगै माआवादी नेताहरुले ०८४ सालअघि सरकारमा जान नहुने भन्ने तर्कको साहारा लिन थालेको देखिन्छ । हुनत माओवादीले तत्काल सरकारमा नजाने भन्ने तर्क सत्ता नेतृत्वबाट बाहिरिएदेखि नै गर्दै आएको थियो ।
साथै उसले सरकार ढाल्ने खेलको सुरुवात पनि त्यही समयदेखि गरेको हो । तर माओवादीले सत्ताको लय अनुसार नै सरकारमाथि स्वार्थ मिश्रित टिप्पणी गर्दै आएको छ । गठबन्धनमा आएका पटक पटकका अफ्ठ्याराहरुलाई नियाल्दै माओवादीले सरकार ढल्ने अभिव्यक्ति दिँदै आयो ।
यस्तोमा काँग्रेसकै शेखर–गगन पक्षका नेताहरुको अभिव्यक्तिले पनि माओवादीलाई सरकारविरुद्ध हमला गर्न सघाउ पुगेको छ । पछिल्लो पटक पनि विभिन्न नियुक्तिको विवाद र देउवाको बैंकक भ्रमणको विषयलाई लिएर माओवादीले सरकार ढाल्ने हल्ला मच्चाएको थियो । तर माओवादीको यो दावीलाई शेरबहादुर र आरजुको एउटै प्रष्टिकरणले फेल गराएको छ । जसले तनावमा रहेका ओलीलाई समेत हाइसञ्चोको स्थिति निर्माण गरिदिएको छ ।