
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताएका छन् । नेपाल चलचित्र संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गुरुङले परिस्थिति बदलिएपछि ऐन, कानून बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताए । मान्छे मात्रै बदलिएर केही नहुने उनको जिकिर छ । उनले राजा महेन्द्रको पालामा बनेका कानूनका कारण विकास हुन नसकेको जिकिर गरे ।
आफूले शुरुमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय (गृह वा भौतिक पूर्वाधार तथा यातायात) मागेको भए पनि प्रधानमन्त्रीको आग्रहले सञ्चार मन्त्रालयमा गएको उनले बताए ।
मन्त्री गुरुङले भन्नुभयो, 'मन्त्रालय आएपछि... । मलाई लाग्थ्यो शुरुमा यो मन्त्रालयमा बजेट नै छैन । ६-७ अर्ब छ । मैले प्रधानमन्त्रीज्युसँग भनेको थिएँ । मलाई की सुशासन कायम गर्ने मन्त्रालय दिनुपर्छ, कि विकास गर्ने मन्त्रालय चाहिन्छ । मैले भनेको थिएँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जुनमा डेढ खर्ब भन्दा बढी बजेट छ । त्यहाँको लथालिंग, भताभुंग जे खालको आजको मुलुकको तस्बिर त्यहाँ देखिन्छ, त्यसलाई म सुधार र रुपान्तरण गर्न चाहन्छु । मलाई त्यो दिनुस् भनेको थिएँ । गृह मन्त्रालयउ दिनुस् । यो सारा बेथितिहरु जहाँ जहाँ भइरहेको छ, त्यो पहिलो चोटि सबै कुराको उद्घाटन गर्छु भनेको थिएँ । तर सरकारको प्रवक्ता पनि बन्नुपर्यो, प्रवक्ता भएको मान्छे अलि सिनियर पनि हुनुपर्यो । साना साना मान्छेलाई बनाएर भएन । तपाईं सञ्चारमन्त्री हुुनपर्छ । त्यो पनि ठूलै क्षेत्र हो । हुन्छ भनेर मैले स्वीकारेँ । मन्त्रालयमा गइयो । त्यो मन्त्रालय कस्तो रहेछ भने अहिलेसम्म राजा महेन्द्रको कारणले चलेको मन्त्रालय रहेछ ।'
सञ्चारमन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेश गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताए । यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर गरे । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको बताए ।
आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताए । उनले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको जानकारी दिए ।