News 24 Television
रुखको ठुटोबाट कसरी झर्यो पानी ? सबै चकित  

कास्की । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका छन् ।

गत फागुन १४ गते शिवरात्रीको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि धेरैलाई आश्चर्यमा पारेको छ । प्राय सुनसान हुने यस स्थानमा अहिले मानिसहरुको भिड लाग्न थालेको छ । धार्मिक आस्थासँग जोडिएको यो स्थानमा अहिले दैनिकरुपमा हजारौं मानिस हेर्नको लागि आउने गरेका छन् भने दैविक शक्ति भन्दै बिरामी उपचारका लागि पानीले नुहाउने तथा पुजाआजा गर्न थालेका छन् । 

कोही जमिनमा लडेर घिर्सिरहेका थिए त, कोहीलाई नुहाइदै थियो । कोही पुजाआजामा व्यस्त थिए त कोही रुखको ठुटोबाट निस्किएको पानी देखेर चकित थिए । यो दृष्य हो कास्कीको रुपा गाउँपालिका ६ तालबेसी फाँटको । 

गत फागुन १४ गते शिवरात्रीको दिनदेखि करिब तीन मिटर उचाईमा रहेको एउटा रुखको ठुटोबाट निरन्तर पानीको धारा झर्न थालेपछि यहाँ यस्ता गतिविधि देखिन थालेको हो । अहिले यसलाई जलसिद्ध महादेव मन्दिर भनि नामाकरण समेत गरिएको छ । 

rukha-ko-thuto___-1746155750.jpg
 

प्राय सुनसान हुने यस ठाउँमा जब रुखको ठुटोबाट पानी निरन्तर झर्न थाल्यो, तव धेरैलाई आश्चर्य र चकित बनायो । यसरी उभिएको रूखको ठुटोको माथिल्लो भागको उत्तर र दक्षिणतर्फबाट पानीका धारा छुटेको दृश्य सामाजिक सञ्जालमा देखिन थालेपछि नेपालका विभिन्न ठाउँबाट यो दृश्य हेर्न आउनेको घुइँचो लागेको छ । 

तालको पानी माथि तिर बग्दैन भन्ने परम्परागत उक्ति र सत्यतालाई पनि यो दृश्यले चुनौती दिएको छ । स्थानीयका अनुसार रुपातालको बाँध निर्माण गरी तालको क्षेत्रफललाई विस्तार गर्ने क्रममा डोजरको सहायताले जमिनमुनी लुकेको वस्तु निकाल्न नसकेपछि आसपासको माटो निकाल्दै जाँदा रूखको ठुटो भेटिएको र त्यही ठुटोबाट निरन्तर पानीका धारा झरेको हो । दैवी शक्ति कै कारण तालको पानी तीन मिटर माथी आफै आएको जलसिद्ध महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिस्कु गुरुङ बताउँछन् ।

गत फागुन १४ गते शिवरात्रिका दिनेदेखि नै दर्शनार्थी आउने क्रम जारी छ । पछिल्लो समय दैनिक आठ सयदेखि पन्ध्र सयसम्मले पानीको धाराको दर्शन गर्ने र ठुटोबाट निस्केको पानीले स्नान गर्ने गरेका छन् ।

दैनिक रुपमा भिड हुन थालेपछि रुपा गाउँपालिकाले व्यवस्थित राख्न पहल गरेको छ । अहिले यस स्थानलाई व्यवस्थित गर्न वरिपरि तारवारले घेरिएको छ । अझ यसलाई आवश्यकता अनुसार व्यवस्थित बनाउन छलफल भैरहेको रुपा गाउँपालिकाकी उपप्रमुख लालसुब्बा गुरुङ बताउँछिन् ।

रुखको ठुटोमा भूमिगत पानीको मूल जोडिएको हुनसक्ने भएपनि ठुटोको टुप्पाबाट पानीको धारा आउनु अनौठो भएको धेरैका बुझाई छ । 

यस घटनालाई धार्मिक दृष्टिकोणबाट चमत्कारी मानिएपनि वैज्ञानिक दृष्टिकोणबाट यसको कारण पत्ता लगाउने प्रयास भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update