News 24 Television
देउवाको मुड स्वीङमा प्रचण्ड सफलतातर्फ ! 

काठमाडौँ । केपी ओली नेतृत्वको सरकार कति सुरक्षित ? कांग्रेसले कहिलेसम्म साथ दिने काम गर्ला ? यस्ता प्रश्नको विवेचना एमाले सचिवालय बैठकदेखि संसद परिसरसम्म हुने गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मुड नबिगारेसम्म सरकार रहिरहनेमा शंका नभएपनि राजनीतिक रुपमा अनेक प्रयास भने चलिरहेका छन् । 

सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना, विवेचना र समर्थन रोचक ढंगले चलिरहेको छ । यस्तोमा संसद परिसरमा छलफल बहस चलिरहेको छ, केपी ओली नेतृत्वको सरकार कहिलेसम्म जाला ? के ओलीले निर्धारित समयमै सरकारको नेतृत्व हस्तान्तण गर्लान् ? जिज्ञासा जति भएपनि यसको जवाफ ओलीमा नै निर्भर हुनेछ । तर, संसद परिसरमा सरकारको आलोचना र प्राविधिक रुपमा सरकारले काम गर्न नसकेको आवाज खुलेआम उठिरहेका छन् । 

माधवले जस्तै सरकारको काममा प्रश्न प्रतिपक्षीले उठाइरहेको छ । सरकार नै ढल्ने स्थिति नभएपनि सरकार गठन हुँदाका सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेसभित्रको आलोचना भने व्यापक बनिरहेको छ । 

कांग्रेस नेता कोइरालाले यस्तो जिकिर लिइरहेको बेला कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे भने सात बुँदेकै जगमा नीति तथा कार्यक्रम आएको भन्दै सरकारको बचाउमा उत्रिन बाध्य छन् । 

सरकारबारेका अनेक विषय चलिरहेका बेला एमालेले नीति तथा कार्यक्रमको बचाउ गरिरहेको छ । यद्यपी, प्रतिपक्षी आवाजहरु भने बलिया र ठूला सुनिन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार निर्माणको जग नै विचौलिया जोगाउने गरि भएको आरोपमै केन्द्रित देखिन्छ । 

सरकारमाथिका आलोचना र टिप्पणी चलिरहेका बेला प्रचण्ड भने सरकारप्रति जनताको विश्वास टुटेको दाबी गरिरहेका छन् । तराई मधेस भ्रमणबाट फर्किएका प्रचण्डले देउवालाई फकाउन कुनै समस्या नरहेको जिकिर गर्दै सरकारबारे यस्तो भने ।

सरकारबारेका अनेक अड्कलबाजीका बीचमा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई नै निरन्तरता दिने गरि अघि बढेको दाबी एमालेभित्र चलिरहेको स्थिति छ । 

एमाले सचिवालयमा पनि चर्चा

एमाले सचिवालय बैठकमा समेत प्रधानमन्त्री केपी ओलीेले कांग्रेस भनेकै देउवा भएकाले अरुले गर्ने विरोधको खास अर्थ नहुने व्याख्या गरेका थिए । ओलीले देउवाले नचाहेसम्म बाहिर चल्ने हल्लाले काम नगर्ने र देउवासंँ आफ्नो राम्रो सम्बन्ध रहेकाले निर्धक्क सरकारले पुरा कार्यकाल काम गर्ने जिकिर गरेको बताइन्छ । देउवाप्रति निर्धक्क सुनिएका ओलीले पार्टीभित्रैबाट सरकारलाई सहयोग गर्नुको सट्टा आलोचना र विरोध भएकोमा भने चित्त दुखाएको बताइन्छ । 

शिक्षामन्त्रीबाट विद्या भट्टराईले दिएको राजनीनामाको विषयमा चर्काचर्की नै चलेपनि ओलीले सत्ता समिकरणमा समस्या नरहेको निष्कर्ष देउवालाई उदृत गर्दै राखेको बताइएको छ । उसोतः देउवाले गभर्नर नियुक्तिमा भने गम्भीर चासो राखेको बताइन्छ । यो विषयमा सरकारले बिहीबारसम्म निर्णय लिने जवाफ देउवालाई दिएको छ । यस्तो स्थितिले पनि ओलीले आफूलाई गलाएरै राख्दा सत्ता समिकरणमा समस्या आउदैन कि भन्ने चर्चा चल्न थालेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update