
मकवानपुर । मकवानपुरको हेटौंडामा सडकको सानो भागको हिलोमा फसेको गाडी जमिनमै भासिएको ५ दिन पूरा भयो । तीन दिनसम्म प्रहरी, स्थानीय र जनप्रतिनिधिको रोहवररमा गाडीको खोजी गरियो ।
खाडलको पानी मोटर लगाएर सुकाएर हेर्दापनि गाडी कता छ भन्ने पत्ता लाग्न सकेन । ४ दिनको खोजीकार्यमा पनि गाडी भेट्न नसकेपछि भूगर्भविद्को टोलीले अध्ययन सुरु गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालहरुमा हेटौडामा गाडी भासिएको भिडियोले चर्चा पाइरहेको छ । सडकमा रोकिएको ना ४ च ४८३३ नम्बरको डीआइ गाडी शुक्रबार दिउँसो हेटौंडा १७ गौरीगाउँ स्थित भित्री कच्ची सडकमा भासिएको थियो ।
हिलोमा फसेको गाडी निकाल्ने क्रममा ५ सेकेन्डकै बीचमा गाडी जमिनमै बिलायो । गाडी डुब्न लागेपछि त्यसमा रहेका चालक र सहचालकले भागेर ज्यान जोगाए ।
त्यसो त, हिलोमा फसेको गाडी एक्कासी कसरी जमिनमै हरायो ? गाडी कहाँ पुग्यो ? भन्ने बिषयमा अध्ययन गर्न भूगर्भविद्को टोली मंगलबार बिहानैबाट घटनास्थलमा खटिएको छ ।
हेटौंडा उपमहानगरपालिकाले भूगर्भविद् ल्याएर यसको बिषयमा अनुसन्धान गर्ने र गाडीको अवस्था पत्ता लगाउने उद्देश्यसहित बिहानैदेखि भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा ५ जना भूगर्वविद् फिल्डमा खटिएका छन् । यद्यपि, दिनभर म्याग्नेटो मिटरको आधारमा भूगोलको चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था अध्ययनको प्रारम्भिक नतिजाले दलदले माटोको कारण गाडी जमिनमा दबिएको देखिएको भूगर्भविद् नारायण अधिकारीको भनाइ छ ।
यसअघि कहिल्यै पनि यस स्थान वरपर यस्ता घटना नघटेको स्थानीयहरुको भनाइ छ । धाप क्षेत्र नभएको ठाउँमा यसरी गाडी नै हराउने गरी जमिन भासिएको इतिहासमै पहिलो पटक भएको स्थानीय बासिन्दाहरु बताउँछन् ।
यता, दिनभर भूगर्भविद्को टोलीले समेत गाडीको अवस्था पत्ता लगाउन नसकेपछि अध्ययन र खोजी कार्यलाई जारी राखिने उपमहानगरका प्रतिनिधि बताउँछन् । घटनास्थलमा खटिएका भूगर्भविद्हरुले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गरिरहेका छन् ।