News 24 Television
श्वेतपत्रपछि अब विद्युत प्राधिकरणको डिडिए गरिँदै

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्का यस्तो बताएका हुन् । उनले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको बताए ।

विद्युत प्राधिकरण घाटामा गएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिए ।

उनले भने, ‘श्वेतपत्रमा अहिलेको जे यथार्थ हो त्यो ल्याइदिएको हो । त्यसको राम्रोसँग अध्ययन गर्नको लागि म सबैलाई सल्लाह पनि दिन चाहान्छु । हामी प्राधिकरणको पछिल्लो अवस्थाको डिडिए गराउँछौं ।’

अब मुलुकमा लोडसेडिङ नहुने समेत मन्त्री खड्काले स्पष्ट पारे । प्राधिकरणले गत शुक्रवार श्वेतपत्र जारी गर्दै सहायक तथा संवद्ध कम्पनीहरूको प्रवर्द्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ संस्थागत जमानत प्रदान गरेको जनाए । बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँ अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको जानकारी गराएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update