
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा सरकारको स्थिरतादेखि गभर्नर नियुक्तिसम्मका विषय उठेका छन् । कांग्रेसले भारत पाकिस्तान युद्धबारे समेत भारतको पक्षमा आवाज उठाएको छ, भने गठबन्धनमा समेत समस्या नरहेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई आश्वस्त पार्ने काम गरिरहेको छ ।
नेपाली कांग्रेसको शीर्ष तहको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्यो । बैठकमा कांग्रेस नेताहरुले विभिन्न विषयमा छलफल गरे । यसक्रममा मुख्य चिन्ता भनेको सत्ता गठबन्धनबारे नै केन्द्रित भएको देखिन्छ ।
राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा देखिएको बिलम्बलाई कांग्रेसले मिहिन ढंगले विश्लेषण गर्दै आफ्नो पक्षमा नतिजा पार्न खोजेपनि प्रधानमन्त्री ओलीले रणनीतिक रुपले हलो अड्काइदिएपछि स्थिति फेरिने चिन्ता बढन् थालेको छ । यता, एमालेले माओवादी केन्द्रसँग समेत विभिन्न बहानामा मित्रता बढाउन थालेपछि गभर्नर नियुक्तिमा ठूला बहस गरिरहेको कांग्रेस पछिल्लो समय लत्रिएको जस्तो देखिन्छ । यस्तोमा गभर्नर कांग्रेसले पाउने सहमति भइसकेको भन्दै कांग्रेसले छिट्टै नियुक्त हुने अपेक्षा गरेको छ ।
गभर्नर नियुक्तिले सरकारको स्थिरतामा प्रश्न उठिरहेको छ भने संक्रमणकालीन न्याय प्रणालीले समेत समस्या निम्तिन सक्ने स्थिति बनिरहेको छ । संक्रमणकालीन न्याय टुंगो लगाउन दुई आयोगको अध्यक्ष कांग्रेस एमालेले मिलेर लिने अन्तिम तयारी गरेपछि माओवादी चिढियो र ओली आफैले पहल लिएका थिए । त्यसपछि माओवादीले पनि प्रधानमन्त्री केपी ओली सकारात्मक रहेको पाएको टिप्पणी ग¥यो ।
माओवादी केन्द्रले यस्तो जिकिर गर्नु र तारन्तारका भेटवार्ताले कांग्रेसभित्र समेत संशय भने देखिन्छ । एमालेले कुनैपनिबेला माओवादी केन्द्रसहितका दलहरुसँग मिलेर कांग्रेसलाई पाखा लगाउन सक्नेमा त्रसित बनिरहेका छन् । एमालेसंग कट्टर धारणा राखिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत संसदमै सरकार नढलोस भन्ने चाहेको तर ढलिहाल्ने स्थिति बनेमा टेको दिने भनिसकेको छ ।
यसरी प्रतिपक्षी दलहरुले कांग्रेसमाथि दबाब बढाइरहेका छन् । पहिलो सर्त कांग्रेसलाई नै सत्ता नेतृत्व सुम्पिन चाहेका प्रतिपक्षीहरु देउवाबाट नहुने ठानेपछि ओलीतर्फ केन्द्रित बन्न थालेका छन् । यस्तोमा कांग्रेस केहि रक्षात्मक बन्न पुगेको देखिन्छ भने कांग्रेसले पनि टीआरसीमा पनि बोलेको छ ।
कांग्रेसमाथि चौतर्फी दबाब बढेको छ । टीआरसीदेखि गभर्नर नियुक्तिसम्म आइपुग्दा कांग्रेस रक्षात्मक पक्कै बनेको छ । यसरी कांग्रेसमाथि चलेका विभिन्न दबाब र प्रभाव भने पेचिला बनिरहेका छन् ।
भारत पाकिस्तान प्रकरणमा पनि कांग्रेस एकात्मक
भारत पाकिस्तान युद्धमा होमिएका छन् । भारतले अत्याधुनिक हतियारसहित राफेलसहितका विमानको प्रयोगमार्फत मिसाइल प्रहार गरिरहेको छ भने इजरालयमा निर्मित ड्रोन समेत हानिरहेको छ । तर, पाकिस्तानले भने प्रतिरोधबाहेक कुनै कदम नचालेको भनिरहेको छ।
यस्तोमा भारत पाकिस्तान युद्धमा नेपालको आधिकारिक धारणा समेत रहस्यमयपूर्ण बनेको स्थिति छ । यही परिवेशमा कांग्रेसले पनि आतंकवादको नाममा भारतको प्रष्ट साथ दिने संकेत गरेको छ । नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने भएपनि कांग्रेसले सबैखाले आतंकवादको विरोध गर्ने भन्दै भारतको अपरेशन सिन्दुरलाई समेत समर्थन गरेको देखिन्छ ।
कांग्रेसले यस्तो जिकिर गरिरहँदा नेपालले परराष्ट्र मामलामा समेत नयाँपन दिनुपर्ने र परराष्ट्र नीतिलाई लिनुपर्नेमा कांग्रेसले प्रष्ट साथ दिने विषयले प्रश्न र शंका उब्जाएको छ ।
नेपाल दक्षिण एसियाली राष्ट्रको अध्यक्षको रुपमा रहेको बेला कसरी पेश हुने भन्ने विषयमा समेत कांग्रेसले ख्याल गर्नुपर्ने हुन्छ । तर, पछिल्लो समय कांग्रेस एमालेप्रति भारत सकारात्मक बन्न नसकिरहेको बेला कांग्रेसले दिएको धारणाले समेत राजनीतिक तरङ्ग पैदा गरिदिएको छ ।
उसोतः केहिले पछिल्लो समय असंलग्न परराष्ट्र नीति भनेर बस्न नहुने र छिमेकी भारत पाकिस्तान युद्धलाई प्रष्ट रुपमा पक्षधरता देखाएर अगि बढ्नुपर्ने समेत भन्ने गरेका छन् । यो विषयमा राजनीतिक दल र नेताहरु समेत विभक्त हुन थालेका छन् ।