News 24 Television
सवारी विवरण धमाधम कम्प्युटर इन्ट्रिः अनलाइनमै भेटिनेछ विस्तृत विवरण

मकवानपुर । विगत दुई महिनादेखि बागमती प्रदेश सरकारले प्रदेशमा दर्ता भएका सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालयको स्टोरमा थन्क्याइएका यस्ता फाइल व्यवस्थित गर्न सके कार्यसम्पादनमा धेरै समय नलाग्ने तथा कार्यालयबाटै फाइल हराउने समस्याको अन्त्य हुने लक्ष्य लिइएको छ । 

बागमती प्रदेशमा दर्ता भएका सवारीहरुको फाइल डिजिटलाइट अर्थात् अनलाईन प्रणालीमा प्रविष्ट गर्ने कार्यले तीव्रता पाएको छ । करिब १६ लाख दुई पाङ्ग्रे र ६ लाख चार पाङ्ग्रे सवारी दर्ता रहेको बागमतीमा ती सबै सवारी साधनको फाइल अनलाईन प्रणालीमा प्रविष्ट गर्न लागिएको हो । 

जसका लागि बागमती प्रदेश सरकारले सय जना डाटा इन्ट्रीकर्ता भर्ना गरेको छ । करारमा भर्ना भएका उनीहरुले पुराना फाइलहरुलाई स्क्यान गरेर डिजिटलाइट गर्ने काम गर्दै आएका छन् । यस अवधिसम्म आइपुग्दा हाल ३४ हजार भन्दा बढी ढड्ढाहरु डिजिटलाइट गरिएको छ । 

यातायात क्षेत्रको डाटा सिस्टममा सुधार ल्याउने अपेक्षाका साथ सुरुवात गरिएको कार्यले यतिबेला तीव्रता पाएको छ । गत फागुनबाट डाटा इन्ट्रीकर्तालाई यातायात कार्यालयहरुमा खटाइएको छ  । 

यातायात व्यवस्था कार्यालय, हेटौँडा सहित गुर्जुधारा, एकान्तकुना, चितवन, बनेपा तथा खुर्काेटमा डाटा इन्ट्रीका लागि करारका कर्मचारी खटाइएका हुन् । सवारीको फाइल अनलाइन प्रणलीमा लगिएपछि कस्ता सवारीहरु कति दर्ता छन् भन्ने तथ्यांक एक क्लिकको भरमा निकाल्न सकिने यातायात व्यवस्था, कार्यालय, हेटौँडाका प्रमुख प्रविण श्रेष्ठ बताउँछन् । 

यता, प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी ढड्ढा डिजिटलाइटसँगै नागरिक एपमै इ–ब्लुबुकको सुविधा प्रदान गर्ने कार्यको समेत केही दिन अघिमात्रै सुभारम्भ गरेको छ । नागरिक एपमै क्यूआर कोड सहितको डिजिटल लाइसेन्स, नागरिक एपमै ब्लु बुकको सेवा दिन थालेको यातायात मन्त्रालयले, यातायात कार्यालयहरुलाई प्रविधिमैत्री बनाउन फाइल अनलाईन प्रणालीमा राखेर तथ्यांक संकलन गर्न थालिएको मन्त्रालयको दाबी छ  । 

त्यसोत, चालु आर्थिक वर्षबाट सुरुवात भएको यस कामलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिदैँ कागजी ढड्ढाको प्रयोग हटाएर डिजिटल प्रविधिबाट काम गर्नका लागि नीति, कार्यक्रम तथा बजेट बनाइने प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन बताउँछन् । 

हालसम्म प्रदेशका ६ वटा यातायात कार्यालयहरुमा खटिएका सय जना डाटा इन्ट्रीकर्ताहरुले ३४ हजार ६७९ फाइल अनलाईनमा इन्ट्री गराएका छन् । डाटा स्टोरेजका लागि सिंहदरबारस्थित एकीकृत डेटा व्यवस्थापन केन्द्रमा स्पेस लिएको छ भने ब्याकअप डाटा हेटौंडामा रहने गरी करिब ६५ टेराबाइट स्टोरेज लिइएको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update