
कैलाली । सुदूरपश्चिमका स्थानीय पालिका अन्तर्गतका कर्मचारीहरु स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलित भएका छन् । प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बैशाख २८ गतेदेखि विधेयक पारित नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणाअनुरुप आइतवार मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारी धर्नामा बसेका हुन् ।
सुदूरपश्चिमका स्थानीय पालिकाका कर्मचारीहरु स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि स्थानीय सेवा ऐन ल्याउन प्रदेश सरकारलाई कर्मचारीहरुले आग्रह गर्दै आएका थिए । गत माघमा प्रदेश सभामा विधेयक दर्ता समेत भएको थियो । तर उक्त विधेयक अहिलेसम्म पारित भएको छैन । एक सुत्रीय माग सहित बिहान ९ बजेदेखि १२ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडि प्रवेशद्वारमा धर्नामा बस्ने स्थानीय सेवा कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलक दौल्यालको भनाइ छ ।
सुदूरपश्चिमका ८८ वटै स्थानीय पालिकाका कर्मचारीहरू आन्दोलन गर्न धनगढी आइपुगेका छन् । प्रदेश सरकारले ऐन नल्याउँदा लामो समयसम्म एउटै स्थानीय तहमा काम गर्नु परेको उनीहरुको गुनासो छ । ऐन नभएकै कारण विभिन्न किसिमका हस्तक्षेप र समस्या भोग्नुपरेको कर्मचारी बताउँछन् । स्थानीय सेवा ऐन ल्याउन पटकपटक आग्रह गर्दा पनि नल्याइएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको कर्मचारीको भनाई छ ।
स्थानीय सेवा ऐन नहुँदा काम गर्न गाह्रो भएकै कारण अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण कामकाज ठप्प पारेर सडक आन्दोलनमा उत्रिनुपरेको आन्दोलित कर्मचारीको भनाइ छ । माग पूरा नहुँदासम्म चरणबद्ध आन्दोलन जारी राख्ने कर्मचारी बताउँछन् ।
्