News 24 Television
बागमतीमै दया लाग्दो दुर्गम, गाउँपालिकाभर छैन कालोपत्रे ! 

मकवानपुर । मुलुकमा संघीयता कार्यान्वयन भएपछि विकासका लहरहरु गाउँ÷गाउँसम्म पुगे । सडक नभएका स्थानहरुमा सडक सञ्जाल, टुकीको सहारामा जीवन धान्दै आएका बस्तीमा विद्युतका पोल, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुको पुहँच नागरिकहरुसम्म पुग्यो । तर, प्रदेशकै राजधानी रहेको मकवानपुरको एउटा स्थानीय तह, जहाँ अहिलेसम्म पनि सडक कालोपत्रे भएको छैन  । 

यो मकवानपुरको सबैभन्दा विकट कैलाश गाउँपालिका हो । यो गाउँपालिकाको दुरी बागमती प्रदेशको राजधानी हेटौंडाबाट ४५ किलो मिटरको मात्रै छ । 

दूरीको हिसाबले प्रदेशको राजधानीबाट नजिकै भए पनि भौगोलिक विकटताका कारण पछाडी परेको यहाँ संघीयता कार्यान्वयनमा आएको ८ बर्ष पूरा हुँदा पनि गाउँपालिकाभित्र रहेका सडक सञ्जालहरुहरु अवस्था अझै उस्तै छ । बर्खामा हिलो र हिउँदको धुलोले स्थानीयहरुलाई गाउँपालिकाको कार्यालयसम्म पुग्न पनि सास्ती छ । 

त्यसोत, मकवानपुरको १० स्थानीय तहहरुमध्ये कैलाश गाउँपालिका मात्रै यस्तो पालिका हो जहाँ हालसम्म कालोपत्रे भएको सडक नै छैन । सडक सञ्जाल नै नपुगेको यहाँ यतिबेला भएका कच्ची सडकहरुलाई ग्राबेल गर्ने, ढलान गर्ने तथा खोला र खहरेमा कल्भर्ट बनाउने काम भैरहेको छ । 

सडकको पहुँच नै नपुगेको यस गाउँपालिकामा सडक धुलो उड्ने, कच्ची र अप्ठेरै भए पनि पहिले÷पहिलेको तुलानामा भने केही हदसम्मको विकास भएको स्थानीयको भनाइ छ । 

सडकै नहुँदा कोही बिरामी परे डोकोमा बोकेर मुल सडकसम्म पुर्याउँदाका दिन भन्दा सडक कच्ची नै भए पनि आफूहरुलाई सहज भएको स्थानीय बताउँछन् । 

बर्खा लागेपछि पहिरोले अवरुद्ध हुने, बाढीले बगाउने जस्ता समस्या भोगेका यहाँका स्थानीयहरुलाई यो आउँदो वर्खा सुरु हुुनु अगावै सडक मर्मतको काम सकिएला कि नसकिएला ? भन्ने पीरलो छ । तथापी असार लाग्नु अगावै आफूले सम्झौता गरेका निर्माण कार्यहरु सम्पन्न गरेर पालिकालाई बुझाउने तयारीमा निर्माण कम्पनी जुटेको पाइन्छ । जसका लागि फिल्डमा खटेर निर्माण कार्यलाई तीव्रता दिइएको निर्माण कम्पनीको दाबी छ ।

यता, गाउँपालिकाका जनप्रतिनिधिहरुको पहिलो एजेण्डा नै गाउँपालिकासम्म पुग्ने सडक सहज बनाउने रहेको उनीहरु बताउँछन् । भौगोलिक विकटता कारण थोरै सडक निर्माण र मर्मत गर्न समेत धेरै लगानी लाग्ने भएकोले बजेट अभावका कारण हालसम्म सडक कालोपत्रे गर्न नसकिएको गुनासो छ । २०३५ सालमा चुनिया–नामटार–कालिकाटार–भार्ता सडकखण्डमा अहिलेसम्म कालोपत्रे गर्न नसक्नुलाई नागरिकहरुले विकास नभएको भन्नु स्वभाविक भएको गाउँपालिकाका अध्यक्ष लोक मोक्तान बताउँछन् । 

सबै पालिकावासीहरु कार्यपालिकाको सेवा लिन पुग्नुपर्ने केन्द्रसम्मको सडक सहज भैदिए सेवग्राहीहरुलाई मात्रै होइन, यहाँ कार्यरत कर्मचारीहरु, शिक्षक तथा विद्यार्थीहरु समेत लाभान्वित हुनेछन् । जसका लागि गाउँपालिकाले बहुवर्षे आयोजनाको रुपमा आगामी आर्थिक वर्षदेखि सडक कालोपत्रेको सुरुवात गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update